खेलकूद

क्रिकेट प्रशिक्षण मंसिर दोस्रो साताबाट शुरु गर्ने तयारी (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक २६ गते २०:३१
क्रिकेट प्रशिक्षण मंसिर दोस्रो साताबाट शुरु गर्ने तयारी (भिडियोसहित)

२६ कात्तिक, २०७७ काठमाडौं । कोरोनाका कारण चैतदेखि अधिकांश खेलाडी मैदान उत्रिन पाएका छैनन् । फूटबल खेलाडी सात महिनापछि अभ्यासमा फर्किएर मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेका छन् । अब क्रिकेट खेलाडीलाई मंसिर १० गतेदेखि प्रशिक्षणमा फर्काउन नेपाल क्रिकेट संघ क्यानले तयारी गरिरहेको छ ।

कोरोना संक्रमणका कारण लामो समय खेलाडी मैदान बाहिर रहँदा त्यसको असर उनीहरुको फिटनेशमा देखिएको छ । सरकारले पनि स्वास्थ्य प्रोटोकल अपनाएर प्रशिक्षण गराउन सहमति दिएपछि खेलाडी मैदान फर्किने अपेक्षा गरिएको छ । यसै क्रममा नेपाल क्रिकेट संघ क्यानले मंसिर १० गतेदेखि नियमित प्रशिक्षण गराउने तयारी गरेको छ ।

अहिले कतिपय खेलाडी उपत्यका बाहिर छन् । सबै खेलाडीलाई काठमाडौं बोलाएर स्वास्थ्य जाँचपछि त्यसको नतिजाका आधारमा प्रशिक्षणमा सहभागी गराउने क्यानको योजना छ ।

प्रारम्भिक प्रशिक्षणका लागि क्यानले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा होस्टल बनाउने भनेको थियो । तर त्यो संभव नभएपछि विकल्पमा क्यानले आवश्यक परे खेलाडी तथा प्रशिक्षकलाई होटलमा राख्ने योजना बनाएको छ ।

लामो समय खेलबाट टाढा रहेका खेलाडीलाई लयमा फर्काउनु क्यानका लागि मुख्य चुनौती छ । जसका लागि क्यानले विभिन्न राष्ट्रसँग मैत्रीपूर्ण खेलको प्रस्ताव पनि गरिरहेको जनाएको छ ।

नेपालले पछिल्लो पटक गत फागुनमा एसीसी इस्टर्न रिजन २०२० खेलेको थियो । आइसीसी विश्वकप लिग टु त्रिकोणात्मक सिरिज अन्तर्गतका नेपालका ३ वटा खेल कोरोनाका कारण स्थगित भएका छन् ।

ती स्थगित खेल जनवरीदेखि शुरु हुने संभावना छ । त्यसैले मंसिर १० गतेदेखि हुने प्रशिक्षण जनवरीमा सुरु हुने आइसीसी विश्वकप लिग टु त्रिकोणात्मक सिरिजको तयारीका रुपमा प्रयोग गर्ने क्यानको योजना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्