समाज

कञ्चनपुरमा पुल निर्माण अलपत्र हुँदा स्थानीय बासिन्दालाई समस्या (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक २६ गते २०:२७
कञ्चनपुरमा पुल निर्माण अलपत्र हुँदा स्थानीय बासिन्दालाई समस्या (भिडियोसहित)

२६ कात्तिक, २०७७, कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिकाको उत्तर–पश्चिम भएर बग्ने दोदा नदीमा देखतभुली–पर्सिया गाउँ जोड्ने पुल निर्माणको काम लामो समयदेखि अलपत्र छ । पुल नहुँदा स्थानीय बासिन्दाले दोदा नदीमा हिउँदमा काठे पुल निर्माण गर्छन् भने वर्षातमा ट्युबबाट जोखिमपूर्ण यात्रा गर्ने बाध्य छन् ।

कञ्चनपुरकै ठूलो दोदा नदीमा दुई वर्षअघि नै पुल बनिसक्नु पर्थ्यो । तर कञ्चनपुरको लालझाडी गाउँपालिकाका बासिन्दाको समस्या समाधान गर्न भनेर बनाउन थालिएको पुल अहिले अलपत्र छ । र, त्यसको कारण हो डिजाइनमा समस्या ।

लालझाडी गाउँपालिकाको देखतभुली–पर्सिया जोड्ने दोदा नदीमाथि पक्की पुल बनाउन २०७२ पुस २६ गते लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभीसँग निर्माण सम्झौता भयो, काम पनि अघि बढ्यो । सम्झौता अनुसार ०७५ सालमै पुल बनिसक्नु पर्थ्यो तर २४ करोड ५३ लाख रुपैयाँको यो पुल अहिले दयनीय अवस्थामा छ । र, पुल नहुँदा गाउँलेले धेरै नै सास्ती व्यहोर्नु परिरहेकोछ ।

दोदा नदीमा पुल नहुँदा लालझाडी गाउँपालिकामा प्रवेश गर्न हिउँदमा काठेपुल र बर्खामा ट्युब प्रयोग गरिन्छ । यहाँबाट ओहोरदोहोर गर्न ट्युबबाट तर्दा शुल्क तिर्नुपर्छ। दोदा नदीमा ट्युबमार्फत पैदल यात्रु र साना सवारीसाधन ओहोरदोहोर गरिरहन्छन् । ट्युबबाट नदी वारपार गर्न मोटरसाइकलको २ सय रुपैयाँ र साइकलको २० देखि ३० रुपैयाँसम्म तिर्नुपर्छ ।

पुल नभएकाले स्थानीय बासिन्दालाई परेको समस्या बारेमा राजनीतिक दल जानकार छन् । तर पनि काम अघि बढेको छैन । सरोकारवाला निकायबीच छलफल गरी काम अघि बढाउन प्रदेश सभा सदस्य तारा लामा तामाङको जोड छ ।

डिजाइनमा समस्या भएर रोकिएको होस् वा अरु कुनै यसमा सरोकारवालाको लापरवाही देखिन्छ, र त्यसको पीडा यो क्षेत्रका बासिन्दाले भोगिरहेका छन, किनकी पुल नहुँदा उनीहरुका दुःख उस्तै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *