आर्थिक

करोडौंको कपास ४ वर्षदेखि खजुराको गोदाममा (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक २५ गते २०:५१
करोडौंको कपास ४ वर्षदेखि खजुराको गोदाममा (भिडियोसहित)

२५ कात्तिक, २०७७ बाँके । बाँकेको खजुरा कपास विकास समितिले प्रशोधन गरी विक्रीका लागि तयार पारेको २ सय ३ मेट्रिक टन कपास विक्री नभई ६ बर्षदेखि गोदाममा थन्किएको छ । कपास खरिद गर्दै आएका हेटौंडा कपडा उद्योग र बुटबल धागो कारखाना बन्द भएपछि किसानको उत्पादन खेर जाने अवस्थामा पुगेको छ ।

बाँकेको खजुरास्थित कपास विकास समितिको गोदाममा २०७१ साल देखिको करिब ४ करोड मूल्य बराबरको कपास थन्किएको छ । किसानले उत्पादन गरेको बिउसहितको कपास खरिद गरी समितिले प्रशोधन गरेर हेटौंडा कपडा उद्योग तथा बुटबल धागो उद्योगलाई विक्री गर्दै आएको थियो । कपास खरिद गर्दै आएका दुबै उद्योग बन्द भए विक्रीमा समस्या भएको छ ।

किसानले उत्पादन गरेको बिउसहितको कपास समितिले दाङ, बाँके र बर्दियाका किसानको घर आँगनमै पुगेर प्रति केजी ८५ रुपैयाँमा खरिद गर्दै आएको छ । समितिले प्रशोधित कपास प्रति किलो २ सय १८ रुपैयाँमा विक्री गर्दै आएको छ । समितिले उत्पादन गरेको कपासको गुणस्तर निक्कै राम्रो मानिन्छ ।

नेपाल सरकारले कपास खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरेको कपास विकास समितिले बिउ, विषादी र विषादी छर्ने ट्याङ्कीमा ५० प्रतिशत अनुदान दिने गरेको छ ।

सरकारी अनुदानका कारण बाँके, बर्दिया र दाङका करिब २ सय २५ जना किसानले ८० हेक्टर जमिनमा कपास खेती गर्दै आएका छन् । सिंचाइको सुविधा नभएको अन्य खेतीबालीको उत्पादन न्युन हुने खेतबारीमा किसानले कपास खेती गर्दै आएका छन् । कपास विक्री नहुँदा उत्पादन पनि बर्षेनि घट्दै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *