विदेश

अमेरिकामा कोरोना भाइरससम्बन्धी नियम परिवर्तन, बाइडेनद्वारा टास्क फोर्स गठन

हिमालय टिभी
२०७७ कार्तिक २५ गते १३:४२
अमेरिकामा कोरोना भाइरससम्बन्धी नियम परिवर्तन, बाइडेनद्वारा टास्क फोर्स गठन

२५ कात्तिक, २०७७ न्युयोर्क । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा कोरोना भाइरससम्बन्धी नियम परिवर्तन गरेका छन् ।

राष्ट्रपतिमा विजयी भएपछि बाइडेनले पहिलो कामअन्तर्गत कोरोना महामारी नियन्त्रणका लागि कोभिड–नाइन्टिन टास्क फोर्स गठनको घोषणा गरेका हुन् ।

१३ सदस्यीय टास्क फोर्समा तीन सहअध्यक्ष र एक सदस्य रहेका छन्। यस विषयमा बाइडेनले राज्य एवं स्थानीय अधिकारी तथा वैज्ञानिक र विशेषज्ञको सल्लाहसमेत लिने बताएका छन्।

कोरोना नियन्त्रण आफ्नो प्रशासनको पहिलो प्राथमिकता रहेको भन्दै उनले संक्रमण रोक्नु र खोप पत्ता लगाउनु आफ्ना लागि ठूलो चुनौती रहेको बताए ।

त्यस्तै उनले संक्रमण नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय मास्क नै देखिएको हुँदा सबै अमेरिकीलाई अनिवार्य रुपमा मास्क प्रयोग गर्न आग्रह गरे ।

बाइडेनले महामारीको दोस्रो लहर आउन बाँकी रहेको समेत बताएका छन् । यही नोभेम्बर ३ तारिखमा सम्पन्न चुनावमा विजयी भएपनि विजेताको औपचारिक घोषणा हुन बाँकी नै छ ।

यद्यपि बाइडेनले अहिलेसम्म ५० राज्यमध्ये ४६ राज्यमा घोषित परिणाम अनुसार २ सय ७९ इलेक्टोरल कलेज मत जितिसकेका छन् । कूल ५ सय ३८ मध्ये निर्वाचित हुन २ सय ७० इलेक्टोरल कलेज मतको आवश्यकता पर्छ ।

उता राष्ट्रपति ट्रम्पले हार स्वीकार गरेका छैनन् । उनले लगातार धाँधलीको आरोप लगाउँदै केही राज्यको परिणामलाई लिएर कानूनी प्रक्रिया थालेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *