बिहार विधानसभा निर्वाचनको मतगणना आज हुँदै
२५ कात्तिक, २०७७ पटना । भारतको बिहार विधानसभा निर्वाचनको मतगणना आज शुरु हुँदैछ ।
बिहार विधानसभा निर्वाचन अन्तर्गत तीन चरणमा सम्पन्न निर्वाचनको गणना आजदेखि शुरु हुने भएको हो ।
आगामी पाँच वर्ष बिहारको नेतृत्व छनौटका लागि २ सय ४३ विधानसभा सिटमा भएका निर्वाचनको गणना हुँदैछ । २ सय ४३ सिटका लागि बिहारका ३८ जिल्लामा ५५ वटा गणनास्थल बनाइएका छन् ।
त्यस्तै ५५ वटा गणनास्थलमा ४ सय १४ वटा हल बनाइएको छ । सबैभन्दा पहिला हुलाकमार्फत परेका मतदानको गणना हुनेछ ।
बिहार विधानसभा अन्तर्गत अक्टोबर २८ तारिखमा ७१ सीट, नोभेम्बर ३ तारिखमा ९४ सिट र नोभेम्बर ७ तारिखमा ७८ सिट गरी तीन चरणमा मतदान भएको थियो ।
यस पटक मुख्यमन्त्री नितीश कुमार नेतृत्वको १५ वर्षे शासनलाई चुनौति दिन विपक्षीले महागठबन्धन चुनावि मैदानमा उत्रिएको थियो । चुनावी सर्वेक्षणले पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवका छोरा तेजस्वी यादव बिहारको आगामी मुख्यमन्त्री बन्न सक्ने देखाएको छ ।
कोरोना भाइरसको महामारीका कारण जारी निर्देशिका अनुसार परिणाम केही ढिलो आउन सक्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
प्रतिक्रिया