‘सक्किगोनि’ अब मंसिर २५ गतेदेखि हिमालय टेलिभिजन एचडीमा प्रसारण हुने

२४ कात्तिक, २०७७, काठमाडौँ । नेपालको लोकप्रिय हाँस्य श्रृङ्खला ‘सक्किगोनि’ अब हिमालय टीभी एचडीबाट प्रसारण हुने भएको छ ।
कोरोना महामारीका कारण केही महिना रोकिएको श्रृङ्खला केही सातापछि हिमालय टीभीबाट प्रसारण शुरु हुने कार्यक्रमका निर्देशक कुमार कट्टेल ‘जिग्री’ले जानकारी दिनुभयो ।
‘पछिल्लो समयमा टेलिभिजन कन्टेन्टमा हिमालय टीभीले गरेको लगानी र प्राथमिकताबाट हामी प्रभावित भयौं’ निर्देशक कट्टेलले भन्नुभयो–‘कार्यक्रमलाई अझै उचाईमा पुर्याउन हामीले हिमालय टीभीसँग सहकार्य थालेका छौं ।’
‘सक्किगोनि आगामी मंसिर २५ गतेदेखि हरेक बिहीबार राती ८ बजे हिमालय टेलिभिजनबाट प्रसारण हुनेछ । शहरदेखि गाउँसम्म राती ८ बजे टीभी हेर्ने मुख्य समय भएकाले यही समयमा लोकप्रिय हाँस्य श्रृङखला प्रसारण गर्न लागिएको हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले जानकारी दिनुभयो ।
‘सक्किगोनि’ टीमले आफ्नो सिर्जनशीलतालाई प्रमाणित गरिसकेको छ, लाखौं करोडौं मानिस सक्किगोनीका चरित्र र कलाकारसँग गहिरोसँग बाँधिएका छन’ कार्यकारी निर्देशक कँडेलले भन्नुभयो– ‘यस्ता लोकप्रिय कलाकारहरुको टीमसँग काम गर्न पाउँदा हामीलाई खुसी लागेको छ ।’
हिमालय टेलिभिजनको लगानीमा उत्पादन हुने सक्किगोनी श्रृङखलालाई जेपीटी क्रियशनले निर्माण गर्ने छ । कार्यक्रमको बजारीकरणका लागि एडप्याड प्रा.लि.लाई अनुबन्ध गरिएको टेलिभिजनका कार्यकारी निर्देशक कँडेलले जानकारी दिनुभयो ।
साँझ ७ बजे प्राइमटाइम न्यूज ‘खास खबर’ प्रसारण गरिरहेको हिमालय टीभी एचडीले साँझ ८ बजेलाई इन्टरटेनमेन्ट टाइमका रुपमा लोकप्रिय मनोरञ्जनात्मक कार्यक्रमहरु प्रसारण गरिरहेको छ ।
हिमालय टेलिभिजनले पछिल्लो समय बजारमा पहिलो श्रेणीमा रहेका कार्यक्रमहरु उत्पादन एवं प्रसारण गर्दै आएको छ । द भ्वाइस अफ नेपाल, डान्सिङ वीथ द स्टार, हिमालय रोडिज लगायत अन्तर्राष्ट्रियस्तरमा नम्बर एक बन्न सफल कन्टेन्टहरुको उत्पादन तथा प्रसारण गरिरहेको छ ।
प्रतिक्रिया