मिल सञ्चालकले पैसा नदिँदा घरखेत बेच्नुपर्ने अवस्थामा उखु किसान (भिडियोसहित)
![मिल सञ्चालकले पैसा नदिँदा घरखेत बेच्नुपर्ने अवस्थामा उखु किसान (भिडियोसहित)](https://www.himalayatv.com/wp-content/uploads/2020/11/ukhu-kisan-2.jpg)
२३ कात्तिक, २०७७ काठमाडौं । सर्लाहीका उखु किसानलाई अहिले पनि चिनी उद्योगीले ६० करोड रुपैयाँ दिन बाँकी छ । वषौदेखि उखु बेचेको पैसा लिन सर्लाहीका किसानले आन्दोलन गर्नु परिरहेको छ । चिनी उद्योगीले उखु बेचेको पैसा नदिएपछि किसान घरखेत गुमाउने अवस्थामा पुगेका छन् ।
चिनी उद्योगले ४५ दिनभित्र उखुको भुक्तानी गर्छु भनेसँगै सर्लाहीका नख्नी ठाकुरले ऋण खोजेर खेतको उखु काट्नु भयो । र चिनी मिलमा पुर्याउनुभयो ।
उखु खेती गर्न मात्रै हैन उहाँले त्यो उखु मिलसम्म पुर्याउन पनि ऋण गर्नु पर्यो । तर उहाँले वर्षौदेखि उखुको पैसा पाउनु भएको छैन । उहाँलाई उखु खेती गर्न लिएको ऋण तिर्न खेत नै बेच्नु पर्ने बाध्यता छ ।
नख्निले मात्रै होइन, सर्लाहीकै रामसोगारत पण्डितले पनि उखु खेती गर्न साहुसँग ऋण लिनुभएको थियो । साहुले पैसा मागेको माग्यै गर्छन् । तर त्यो तिर्न उहाँसँग पैसा छैन । उहाँको उखु पेलेर चिनी बेचिसके पनि त्यो मिलले उखुको पैसा दिएको छैन । त्यसैले उहाँको पनि खेत बेच्नुपर्ने अवस्था छ ।
उखु बेचेको पैसाले छोराछोरीको पढाई लेखाई गरौंला, घर व्यवहार राम्रोसँग चलाउँदा भन्ने सोचका साथ उखु खेतीका लागि लिएको ऋणको साँवा भन्दा ब्याज धेरै भएको छ । ऋण तिर्न सकिएको छैन ।
गाउँमै चिनी मिल खुलेपछि खेती किसानीबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ भनेर सर्लाहीका धेरै किसान उखु खेतीतर्फ आकर्षित भए । उखु खेती नै उनीहरुको जिविकोपार्जनको माध्यम बनेको छ । तर त्यो गुलियो उखुको पैसा नपाएपछि किसानको मन तितो भएको छ । उनीहरु घरका न घाटका भएका छन् ।
उखुको पैसा पाउन उनीहरु चिनी मिल र मिल मालिकोमा मात्र हैन, पैसा दिलाइ देउ भन्दै सिंहदरबारमा पनि पुगेका छन् । पैसा माग्दै काठमाडौं आउने किसान आश्वासन पाएर घर फर्कन्छन् । तर पैसा पाउँदैनन् । ऋण लिएर खेति गरेका उनीहरु उखुको पैसा बर्षौदेखि नपाउँदा घरखेत मात्रै होइन, सर्वस्व नै गुमाउने अवस्थामा पुगेका छन् ।
प्रतिक्रिया