ढाका पुगेको नेपाली फूटबल टिमले शुरु गर्यो प्रशिक्षण
२३ कात्तिक, २०७७ काठमाडौं । दुई वटा मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेको नेपाली राष्ट्रिय पुरुष फूटबल टोलीले ढाकामा प्रशिक्षण शुरु गरेको छ ।
गत बिहीबार बंगलादेश गएको टोलीको पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएपछि मैदानमा प्रशिक्षण शुरु गरेको हो । हिजो खेलाडी तथा अफिसियलको पीसीआर परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको छ।
ढाका पुगेको दुई दिन बसेकै होटलमा सामान्य अभ्यास गरेको टोलीले आज शेख जमल रंगशालामा प्रशिक्षण गरेको हो । प्रारम्भिक प्रशिक्षणका लागि बोलाइएका ३५ खेलाडी मध्ये सात जनामा कोरोना संक्रमण देखिएपछि नयाँ खेलाडीका साथ नेपाली टिम ढाका पुगेको थियो ।
टोलीले उत्कृष्ट प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको प्रशिक्षक बालगोपाल महर्जनले बताए । युवा खेलाडीले आफूलाई प्रमाणित गर्ने मौका पाएको उनको धारणा छ ।
विश्वकप तथा एसिया कप छनोटको तयारीमा रहेको नेपालले बंगलादेशसँग बंगबन्धु रंगशालामा कात्तिक २८ र मंसिर २ गते मैत्रीपूर्ण खेल खेल्नेछ । खेल अघि पुनः एक पटक टोलीको कोरोना परीक्षण हुने छ ।
प्रतिक्रिया