आर्थिक

सहकारीले धान किन्न थालेपछि बाँकेका किसान खुसी (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक २३ गते १४:१७
सहकारीले धान किन्न थालेपछि बाँकेका किसान खुसी (भिडियोसहित)

२३ कात्तिक, २०७७, नेपालगञ्ज । कृषि सहकारीले खरिद गर्न थालेपछि बाँकेका किसानले सरकारले तोकेको धानको मुल्य पाउन थालेका छन् । बाँकेका १३ वटा कृषि सहकारी संस्थाले कात्तिक दोस्रो सातादेखि सरकारले तोकेको मुल्यमा धान किनिरहेका छन् ।

जसअनुसार किसानले मोटा धानको मूल्य प्रतिक्विन्टल २ हजार ७ सय ३५ र मध्यम धानको २ हजार ८ सय ८५ रुपैयाँ पाएका छन् ।

किसान धान रोपाईँमा व्यस्त भएकै बेला गत असार ३ गते नै मूल्य तोकेर सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र कृषि सहकारी संस्थामार्फत किसानको धान किन्ने घोषणा गरेको थियो ।

किसानलाई अहिले धान काट्ने चटारो छ । तर सरकारको घोषणा अनुसार सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बाँकेमा अझै धान किन्न सुरु गरेको छैन ।

खाद्य कम्पनीले धान खरिद नगरे पनि कृषि सहकारी संस्थाले भने कात्तिक दोस्रो सातादेखि धान किन्न थालेका छन् । सहकारीले मोटा धान प्रतिक्विन्टल २ हजार ७ सय ३५ र मध्यम धान २ हजार ८ सय ८५ रुपैयाँमा किनिरहेका छन् । जुन सरकारले तोकेकै मूल्य हो ।

लामो समयदेखिको लकडाउन र निषेधाज्ञाका कारण आम्दानीको स्रोत घट्दै गएका कारण आर्थिक रुपले अप्ठ्यारोमा परेका किसान धानको राम्रो मूल्य पाएपछि लाभान्वित भएका छन् ।

बाँकेका १३ वटा सहकारी संस्थाले यो वर्ष किसानबाट करिब १ लाख क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेका छन् । सहकारी संस्थाले हालसम्म किसानबाट करिब २० हजार क्विन्टल धान खरिद गरिसकेका छन् ।

सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको नेपालगन्ज शाखाका कर्मचारी भने कोरोना संक्रमण, चाडपर्व, धान भर्ने बोराको अभावजस्ता समस्या देखाएर धान किन्न अघि सरेका छैनन् । कम्पनीले मंसिरको ७ गतेदेखि धान खरिद गर्ने निर्णय गरेको छ । कम्पनीले नकिने पनि सहकारीले धान किनेपछि किसानलाई केही राहत मिलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *