विदेश

अमेरिकाको ४६ औं राष्ट्रपतिमा जो बाइडन विजयी, ट्र्म्प पराजित

हिमालय टिभी
२०७७ कार्तिक २३ गते ७:०४
अमेरिकाको  ४६ औं राष्ट्रपतिमा जो बाइडन विजयी, ट्र्म्प पराजित

२३ कात्तिक, २०७७ न्युयोर्क । जो बाइडन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका छन्।

पेन्सिल्भेनिया राज्यमा विजयी भएसँगै डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडनले अमेरिकाको ४६औं राष्ट्रपति बन्नका लागि आवश्यक इलेक्टोरल कलेज मत हासिल गर्न सफल भएका हुन् ।

प्रतिस्पर्धी रिपब्लिकन उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पलाई पराजित गर्दै बाइडन अमेरिकाको आगामी राष्ट्रपति चुनिएका हुन्। उनी अमेरिकाको इतिहासमा सबैभन्दा बढी उमेरमा राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने व्यक्ति समेत हुन् ।

२० इलेक्टोरल कलेज मत भएको पेन्सिल्भेनियामा जित हासिल गरेपछि उनीसँग २ सय ७९ इलेक्टोरल कलेज मत पुगेको छ जुन जितका लागि आवश्यक २ सय ७० मत भन्दा बढी हो ।

उनले ११ इलेक्टोरल कलेज मत भएको एरिजोना र १६ इलेक्टोरल कलेज मत भएको जर्जियामा समेत अग्रता बनाएका छन्। वर्तमान राष्ट्रपति ट्रम्पले अघिल्लो निर्वाचनमा जित हासिल गरेका विस्किन्सिन र मिसिगन जितेसँगै बाइडेनका लागि ह्वाइट हाउसको यात्रा सहज बन्दै गएको थियो।

अघिल्लो पटक ‘रेड’ राज्य बनेका विस्किन्सिन, मिसिगन र पेन्सेल्भिनियालाई बाइडनले ‘ब्ल्यू’ बनाएका छन्। उनीसँगै अमेरिकाको पहिलो अश्वेत उपराष्ट्रपतिका रुपमा कमला ह्यारिस विजयी भएकी छिन् ।

विजयी हुने प्रक्षेपणपछि बाइडनले आफू र उपराष्ट्रपतिमा निर्वाचित ह्यारिसप्रति अमेरिकी नागरिकले देखाएको विश्वासले सम्मानित र धन्य महशुस गरेको बताए ।

यसका साथै उनले अब निर्वाचन अभियान सकिएपछि आक्रोश र एकअर्काप्रतिको आरोप प्रत्यारोपलाई पाखा लगाएर एक राष्ट्रको रूपमा अगाडि आउनु पर्नेमा जोड दिए ।

नवनिर्वाचित राष्ट्रपति बाइडेन र उपराष्ट्रपति ह्यारिसले आजै राष्ट्रको नाममा सम्बोधनको तयारी गरेका छन् ।

उता राष्ट्रपति ट्रम्प पक्षले हार स्वीकार नगर्ने संकेत दिएको छ। यो नतिजाले ट्रम्पलाई सन् १९ सय ९० यता पहिलो एक कार्यकाल मात्रै शासन गर्ने अमेरिकी राष्ट्रपति बनाएको छ।

आफ्नो भर्जिनियास्थित रिसोर्टमा गल्फ खेल्दै गरेका ट्रम्पले वक्तव्यमार्फत निर्वाचन नसकिएको प्रतिक्रिया दिएका छन्। उनले सत्य बाहिर ल्याउन नचाहेको कारण बाइडन गलत तरिकाले विजेताको रूपमा घोषणा गर्न आतुर भएको र सञ्चारमाध्यम उनलाई सहयोग गर्न प्रयास गरिरहेको उल्लेख गरेका छन् ।

सोमबारदेखि आफ्नो टोलीले अदालतमा निर्वाचन कानून पालना गरेको र सही विजेतालाई पदमा पुर्‍याउन कानूनी प्रक्रिया थाल्ने विज्ञप्तिमा उल्लेख छ।

अमेरिकामा राष्ट्रपति निर्वाचनका लागि नोभेम्बर तीन तारिखमा मतदान भएको थियो । कोरोना भाइरसको महामारीका कारण यस पटक १० करोड भन्दा बढि अमेरिकीले अग्रिम मतदान गरेका कारण परिणाम केही ढिलो गरी आएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *