राजनीति

नेकपा विवाद : आम नागरिकका समस्या ओझेलमा (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक २२ गते २०:४१
नेकपा विवाद : आम नागरिकका समस्या ओझेलमा (भिडियोसहित)

२२ कात्तिक, २०७७ काठमाडौं । विश्वसँगै नेपाल पनि कोरोना महामारीसँग जुधिरहेको छ । मुलुकमा अनेक खालका समस्या छन् । तर सरकारको नेतृत्व गरेको नेकपा भने लामो समयदेखि आन्तरिक झगडामा रुमलिएको छ । नेकपाको विवादले आम नागरिकका समस्या ओझेलमा परेका छन् ।

कोरोना महामारीका कारण रोजगारी गुमिरहेको छ । नागरिक खाना नपाएर भोकभोकै सडकमा छन् । कोरोनाको उपचार नपाएर बिरामी छटपटाइरहेका छन् । अर्थतन्त्र शिथिल मात्रै होइन आर्थिक वृद्धिदर माइनसमा पुग्न थालेको छ । विकास निर्माण लगभग ठप्प छ । सरकारसँग कर्मचारीलाई तलव दिनसमेत पैसा नभएको खबर आइरहेका छन् ।

यस्तो अवस्थामा केपी शर्मा ओली नेतृत्वको सरकार गतिहीन देखिएको छ । उसको प्राथमिकता खस्कँदो अर्थतन्त्र कसरी सम्हाल्ने र जनजीवन सहज बनाउने भन्नेमा छैन । कोरोना महामारीसँग लड्न पनि सरकारसँग कुनै योजना देखिँदैन । हरेक दिनजस्तो विवादास्पद निर्णय गरेर सरकारले बदनामी मात्रै कमाइरहेको छ । यसबाट आम नागरिक निराश छन् ।

ठिक यहिबेला सत्ता चलाइरहेको नेकपामा भने तमासा देखाइरहेको छ । सरकारलाई सही ढंगले अघि बढाउनुपर्ने पार्टी न त फुटन सकेको छ न त जुट्न नै । कार्यकारी अध्यक्ष भनिएका प्रचण्डले एउटा बैठक बस्नका लागि समेत बालुवाटारमा विन्तिपत्र हाल्नुपर्ने अवस्था छ ।

बैशाखको पहिलो साता प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउन सजिलो हुनेगरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि चर्केको विवाद अहिलेसम्म टुंगोमा पुग्न सकेको छैन । झण्डै दुई तिहाइ पाएको पार्टी कुहिराको काग जस्तै रुमलिएको छ ।

एकातिर प्रधानमन्त्री केपी शर्मा ओली र अर्कातिर अध्यक्ष प्रचण्डले आआफ्नो डम्फु बजाइरहेका छन् । समाजवाद ल्याउने सपना देखाएको बामपन्थी सरकार अहिले न त पछि हट्ने न त अघि बढ्न सक्ने अवस्थामा पुगेको छ । नेकपाले ठुलो जनमतसहित पाएको महत्वपूर्ण अवसर अहिले गुमाउँदै गएको छ । तीन वर्षसम्म झगडा गरेर बिताएको नेकपाले आगामी दुई वर्षमा यसलाई सच्चाउन सकेन भने मुलुक र जनताका लागि दुर्भाग्यपूर्ण हुने निश्चित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्