नेपाली क्रिकेट टिमको प्रशिक्षण मंसिर १० गतेदेखि हुने
२२ कात्तिक, २०७७ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण मंसिर १० गतेदेखि सुरु हुने भएको छ ।
नेपाल क्रिकेट संघ क्यानको बैठकले आज पुरुष टिमको बन्द प्रशिक्षण मंसिर १० गतेदेखि गर्ने निर्णय गरेको हो । क्यानले कोरोना महामारीका बीच सरकारले बनाएको प्रोटोकल पूर्ण पालना गर्दै टिमको तयारी थाल्ने जनाएको छ ।
राष्ट्रिय खेलकुद परिषद राखेपले प्रशिक्षणको अनुमति दिएपछि क्यान अघि बढेको हो । कोरोना महामारीको कारण ८ महिनादेखि खेलाडीले अभ्यास गर्न पाएका छैनन् ।
बैठकले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता डिसेम्बर अन्त्यमा गर्ने निर्णय पनि गरेको छ ।
यस्तै क्यानले पुरुष र महिला खेलाडीको वर्गीकरण पनि सच्याएको छ । बलर सोमपाल कामीलाई ‘ए’ श्रेणीमा राखिएको छ । यसअघि उनी ‘बी’ मा थिए ।
यस्तै ‘सी’ मा रहेका अविनास बोहरालाई ‘बी’ मा राखिएको छ । यस अघि कन्ट्रयाक्टमा नपरेका ललित नारायण राजवंशीलाई ‘बी’ र सन्दीप जोहरालाई ‘सी’ मा राखिएको छ ।
महिलातर्फ सरस्वती चौधरीलाई ‘बी’ तथा ममता चौधरी र सुमन खतिवडालाई ‘सी’ श्रेणीमा राखिएको छ ।
आज बसेको क्यानको भर्चुअल बैठकले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा रहेको पभेलियन हल भारतीय दूतावासको सहयोगमा स्तरोन्नति गर्ने निर्णय पनि गरेको छ ।
मुलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा ड्रेजन निर्माण र स्तरोन्नतिको काम अघि बढाउने निर्णय पनि गरिएको क्यानले जनाएको छ । बोर्ड सदस्यलाई कोरोना संक्रमण भएको कारण स्थगित गरेको वार्षिक साधारणसभा मङ्सिर तीन गते गर्ने निर्णय पनि क्यानले गरेको छ ।
प्रतिक्रिया