समाज

दुर्लभ हिउँचितुवाको आहारा नाउरको गणना गरिँदै

हिमालय टिभी
२०७७ कार्तिक २२ गते १६:०६
दुर्लभ हिउँचितुवाको आहारा नाउरको गणना गरिँदै

२२ कात्तिक, २०७७ डोल्पा । नेपालकै ठूलो शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले संरक्षित वन्यजन्तु नाउरको गणना गर्ने भएको छ ।

विश्वमै दुर्लभ मानिने वन्यजन्तु हिउँचितुवाको प्रमुख आहाराको रुपमा रहेको नाउरको दोहोरो पर्यवेक्षण सर्वेक्षण विधिबाट गणना गर्ने निकुञ्ज कार्यालयले जनाएको छ ।

निकुञ्ज क्षेत्रमा पर्ने जगदुल्ला, फोक्सुण्डो, साल्दाङलगायत छ वटा नाउर ब्लगमा पुगेर गणना गरिने निकुञ्जको भनाइ छ । गणनाका लागि निकुञ्ज, मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, चोरी सिकारी नियन्त्रण समिति, विश्व वन्यजन्तु कोषका प्रतिनिधि, हिउँचितुवा संरक्षण समितिसहित ६५ जनाको टोली परिचालन गरिने बताइएको छ ।

निकुञ्जको एक हजार तीन सय ६६ वर्गकिलोमिटर क्षेत्रमा पुगेर नाउर गणना गरिनुका साथै गणनामा जाने टोलीलाई विशेष तालिमसमेत दिइने बताइएको छ । करिब दुई हप्ता समय लगाएर नाउरको गणना गरी तीनदेखि चार महिनाभित्र सङ्ख्या सार्वजानिक गरिने निकुञ्जले जनाएको छ । अबको एक÷दुई दिनभित्रै गणनाका लागि टोली हिँड्ने बताइएको छ ।

प्रत्येक वर्ष गरिँदै आएको नाउर गणनाले हिउँचितुवा तथा नाउर संरक्षणको वर्तमान अवस्था बुझाउनुका साथै कार्यालयलाई सोहीअनुसारको सुरक्षा रणनीति अपनाउन सहयोग पुग्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले बताउनुभयो ।

उहाँका अनुसार सन् २०१८ मा निकुञ्जको डोल्पा क्षेत्रमा दुई हजार सात सय दुई र सन् २०१९ मा चार हजार एक सय ३६ वटा नाउर गणना गरिएको थियो । शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको आयोजना र विश्व वन्यजन्तु कोषको आर्थिक तथा प्राविधिक सहयोगमा नाउर गणना गर्न लागिएको हो ।

यो गणनाले दुर्लभ वन्यजन्तु हिउँचितुवा र नाउरको सङ्ख्या आकँलनमा समेत ठूलो सहयोग पुग्ने निकुञ्जले जनाएको छ । शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज सबैभन्दा धेरै हिउँचितुवाको घनत्व भएको निकुञ्ज रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *