आर्थिक

कोभिड–१९ त्रासकाबीच पर्यटक बस सेवा शुरु

हिमालय टिभी
२०७७ कार्तिक २२ गते १४:५६
कोभिड–१९ त्रासकाबीच पर्यटक बस सेवा शुरु

२२ कात्तिक, २०७७ काठमाडौं । देशदर्शन बससेवा प्रालिले कोभिड–१९ को बढ्दो सङ्क्रमणकाबीच पनि आजबाट पर्यटक बस सेवा शुरु गरेको छ ।

देशदर्शनले १२ करोड रुपैयाँ लगानीमा १६ वटा पर्यटक बस खरिद गरी स्वदेशी तथा विदेशी पर्यटकलाई अत्याधुनिक सुविधासहित बस सेवा प्रदान गर्ने उद्देश्यले आजदेखि सेवा शुरु गरेको हो ।

देशका प्रमुख पर्यटकीय स्थलमा दिवा तथा रात्री पर्यटक बस सेवा दिनेगरी पर्यटन बस शुरु गरिएको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाटा)का अध्यक्ष अच्युत गुरागाईंले बताउनु भएको छ ।

देशका मुख्यमुख्य पर्यटकीय स्थललाई लक्षित गरेर दिवा तथा रात्रीकालिन बस सेवा सञ्चालन गरेकाले पर्यटन विकासमा महत्वपूर्ण हुने पनि उहाँले बताउनुभयो ।

काठमाडौं–पोखरा, काठमाडौं–जनकपुर, काठमाडौं–वीरगञ्ज, काठमाडौं–लुम्बिनी, काठमाडौं–चितवन, र चितवन–पोखरामा पर्यटन बस सञ्चालनमा ल्याउने भएकाले आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढ्ने विश्वास पनि गुरागाईंले व्यक्त गर्नुभयो । उहाँले नयाँ गन्तव्यमा पर्यटन बस सञ्चालन गर्न सरकारीस्तरबाटै सहयोग हुनुपर्ने पनि बताउनुभयो ।

कोभिड संक्रमणका कारण बसमा यात्रा गर्दा सुरक्षाका मापदण्डलाई अनिवार्य पालनागरी यात्रा गर्नुपर्ने व्यवस्था पनि गरिएको छ । देशदर्शनले शुभारम्भको एक सातासम्म काठमाडौँदेखि देशका विभिन्न स्थानमा जाँदा भाडादरमा ५० प्रतिशत छुट र काठमाडौँ भित्रिने यात्रुका लागि भाडादरमा २० प्रतिशत छुटको व्यवस्था पनि गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *