आर्थिक

उखुको पैसा दिलाउछु भन्ने सरकार नभेटेपछि किसान आक्रोशित (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक २१ गते २०:१९
उखुको पैसा दिलाउछु भन्ने सरकार नभेटेपछि किसान आक्रोशित (भिडियोसहित)

२१ कात्तिक, २०७७ काठमाडौं । उखु बेचेको पैसा नपाएपछि सर्लाहीका उखु किसान फेरि काठमाडौं आएका छन् । सरकारले यसअघि उखु मिलबाट पैसा दिलाउने प्रतिबद्धतासहित सहमति गरेको भए पनि कार्यान्वयन भएको छैन ।

त्यसैले कोरोना कहरमा पनि किसान फेरि काठमाडौं आएका हुन् । तर उनीहरुले काठमाडौं आएर पनि अहिलेसम्म सरकार भेट्न सकेका छैनन् ।

काठमाडौंको गौशाला धर्मशालाको प्राङ्गणमा घाम तापिरहेका उनीहरु सर्लाहीका उखु किसान हुन् । खेतमा उखुको गोडमेलमा लाग्नुपर्ने उनीहरु घाम ताप्न आएका हैनन् । विगतको सहमति अनुसार उखु मिलले पैसा नदिएपछि सरकार खोज्दै काठमाडौं आएका उनीहरु सरकार नभेटेपछि यसरी घाम तापेर बसिरहेका छन् ।

गत सोमबार काठमाडौं आएका उखु किसानले मन्त्री भेट्न सिंहदरबारको चक्कर लगाइरहेका छन् । तर मन्त्री भेट्न सकेका छैनन् । त्यसैले उनीहरुमा आक्रोश छ ।

उखु मिलसँगबाट पैसा दिलाइ दिन माग गर्दै उखु किसान काठमाडौं धाएको यो पहिलो पल्ट हैन । उखुको पैसा पाउन उनीहरुले पटक पटक मन्त्री, नेता, चिनी मिल मालिकसँग हात जोडिरहनु परेको छ । उखु बेचेको रकम नपाएपछि उनीहरुले गत पुसमा काठमाडौं आएर आन्दोलन गरे ।

माघ ७ गतेभित्र सम्पूर्ण बक्यौता दिलाइ छाड्ने भनेर किसानसँग सरकारले सहमति गरेपछि किसानले आन्दोलन फिर्ता लिए र घर फर्किए । तर पैसा पाएनन् । त्यसपछि उनीहरु चैतमा फेरि काठमाडौं आएका थिए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीले किसानलाई आफूहरुको ध्यान कोरोना भाइरस रोकथाममा केन्द्रित रहेको र केही समयभित्र पैसा दिलाइछाड्ने भन्दै आन्दोलन नगर्न आग्रह गरे । त्यो आग्रहकै आधारमा किसान चैतमा घर फर्किएका थिए ।

तर उनीहरुले अहिलेसम्म पैसा पाएनन् । त्यसैले उनीहरु अहिले फेरि काठमाडौं आएका हुन् । तर काठमाडौं आएर पनि उनीहरुले अहिलेसम्म सरकार भेटेका छैनन् ।

सर्लाहीका किसानले मात्र हैन उखु खेती गरेका अधिकांश किसानले भुक्तानी पाउन सकेका छैनन् । सर्लाहीको अन्नपूर्ण चिनी मिलले ३० करोड दिन बाँकी छ ।

यस्तै श्रीराम चिनी मिलले ३८ करोड, महालक्ष्मि, इन्दिरा र लुम्बीनीले ५(५ करोड रुपैयाँ उखुको पैसा तिरेका छैनन् । उखु बेचेर आएको पैसाबाट दैनिक गुजारा चलाउनुपर्ने किसान त्यही पैसा नपाएपछि समस्यामा परेका छन् । तर उनीहरुको समस्या सरकारले सुन्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *