खेलकूद

ढाका पुगेको नेपाली फूटबल टोली क्वारेन्टिनमै अभ्यास गर्दै

हिमालय टिभी
२०७७ कार्तिक २१ गते १८:४१
ढाका पुगेको नेपाली फूटबल टोली क्वारेन्टिनमै अभ्यास गर्दै

२१ कात्तिक, २०७७ काठमाडौं । मैत्रीपूर्ण खेलका लागि बिहीबार बंगलादेश पुगेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो दिन क्वारिन्टन बसेको होटलमा नै सामान्य अभ्यास गरेको छ । बंगलादेशसँग नेपालले दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।

मैत्रीपूर्ण खेलका लागि यति बेला नेपाली राष्ट्रिय फूटबल टोली बंगलादेशको ढाकामा रहेको छ । एक साता क्वारिन्टन बसाईपछि टोलीले दुई मैत्रीपूर्ण खेल खेल्नेछ । बिहीबार नै ढाका पुगेको नेपाली टोलीले स्वास्थ मापदण्ड अनुसार क्वारिन्टन बसाईमा शुक्रबार सामान्य अभ्यास गरेको हो ।

यसअघि होटलमा रहेको नेपाली टोलीको पीसीआर परीक्षण गरिएको थियो । अहिलेसम्म नतिजा भने आएको छैन । पीसीआर परीक्षणको नतिजा आएपछि नेपाली टिमले मैदानमा स्वास्थ्य मापदण्ड पालना गरेर अभ्यास शुरु गर्ने तालिका रहेको छ ।

रिपोर्ट आउनु पूर्व टोलीले शुक्रबार क्वारिन्टन बसेको होटलमा नै सामान्य अभ्यास गरेको हो । होटलको छतलाई खेलाडीले सामान्य अभ्यास गर्ने स्थल बनाएका छन् । यससँगै नेपाली खेलाडी मैदान उत्रिन कतिको आँतुर छन भन्ने प्रस्टाएको छ ।

पाँच दिनको होटल आइसोलेसनपछि अभ्यासमा फर्किने भनिए पनि टोली तीनदिन पछि नै प्रशिक्षण गर्ने तालिका अगाडि सरेको छ । कोरोना भाइरसको महामारीबीच नेपाली राष्ट्रिय पुरुष फूटबल टिमले बंगलादेशसँग कात्तिक २८ र मंसिर २ गते उसैको मैदानमा प्रतिस्पर्धा गर्ने तालिका रहेको छ । मैत्रीपूर्ण खेलका लागि २५ खेलाडीसहित ३४ सदस्सीय नेपाली टिम बिहीबार ढाका प्रस्थान गरेको हो ।

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालका लागि बंगलादेशसँगको मैत्रीपूर्ण खेललाई अर्थपूर्ण तरिकाले हेरिएको छ । बंगलादेशविरुद्धको ‘हेड टु हेड’ मा नेपाल निकै पछि रहेको छ ।

नेपाल र बंगलादेशबीच हालसम्म १९ पटक प्रतिस्पर्धा भएको छ । जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ६ खेल मात्रै जितेको छ । एक खेल भने नतिजाविहीन भएको छ । तर बंगलादेशविरुद्धको पछिल्ला ५ भेटमा भने नेपालले सुखद नतिजा निकालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्