आर्थिक

नेपाली बैंकले जिते चिनियाँ अदालतमा डेढ अर्ब बढीको मुद्दा

हिमालय टिभी
२०७७ कार्तिक २१ गते १५:०१
नेपाली बैंकले जिते चिनियाँ अदालतमा डेढ अर्ब बढीको मुद्दा

२१ कात्तिक, २०७७ काठमाडौं । हिमालयन बैंक र बैंक अफ काठमाण्डूले चीनको अदालतमा बैंक जमानत सम्बन्धी डेढ अर्ब रूपैयाँ बढीको मुद्दा जितेका छन् ।

यससँगै दुई बैंकको लामो समयदेखि डुबेको डेढ अर्बभन्दा बढी रकम फिर्ता आउने भएको छ । मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चिनियाँ कम्पनी चाइना रेल्वे ग्रुप अफ कम्पनीको जमानत बसेवापत बैंक अफ काठमाण्डूको ९० करोड र हिमालयन बैंकको ६६ करोड गरी एक अर्ब ५६ करोड रुपैयाँ आठ वर्षदेखि फसेको थियो ।

ठेक्का पाएको चिनियाँ कम्पनीले कामै नगरी ठेक्का तोडेर भागेपछि यी दुई बैंकमा रहेको जमानत सरकारले जफत गरेको थियो । तर चिनियाँ कम्पनीले छलपूर्वक रकम दिएको भन्दै यी दुई बैंकलाई पैसा दिन आनकानी गरेर अदालतमा गएको थियो ।

चीनको तल्लो तहको अदालतले कम्पनीकै पक्षमा फैसला गरेका थियो । त्यसपछि हिमालय र बैंक अफ काठमान्डूले चीनको हेनानको प्रान्तीय पिपल्स कोर्टमा तल्लो तहको अदालतको फैसला विरुद्ध पुनरावेदन मुद्दा दायर गरे ।

त्यो प्रान्तीय अदालतले भने नेपाली बैंकको पक्षमा फैसला गरेको हो । चाइना रेल्वे ग्रुप अफ कम्पनीकोतर्फबाट चीनमा जमानत बसेको चाइना कन्स्ट्रक्सन कर्पोरेसन बैंकले हिमालयन बैंक र बैंक अफ काठमाण्डूलाई एक अर्ब ५६ करोड रुपैयाँ भुक्तानी गर्नु पर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *