आर्थिक

बुद्धचित्त बिक्री नभएपछि रामेछापका किसान चिन्तित (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १९ गते २०:३१
बुद्धचित्त बिक्री नभएपछि रामेछापका किसान चिन्तित (भिडियोसहित)

१९ कात्तिक, २०७७ रामेछाप । रामेछापको सुनापति र खाँडादेवी गाउँपालिकामा व्यवसायिक रुपमा बुद्धचित्तको खेती हुँदै आएको छ । कोरोना महामारीका कारण पछिल्लो समय उत्पादित बुद्धचित्त बिक्री नभएपछि किसान चिन्तित छन् ।

रामेछापको सुनापति र खाँडादेवी गाउँपालिकालाई बुद्धचित्तको पकेट क्षेत्रको रुपमा लिइन्छ । सुनापति गाउँपालिकाको बेथान, खनियापानी र खाँडादेवी गाउँपालिकाको माकादुम र पकरवासमा बुद्धचित्तको व्यवसायिक खेती हुँदै आएको छ । तर कोरोना संक्रमणका कारण सरकारले सीमा नाका र अन्तर्राष्ट्रिय उडान बन्द गरेकाले बुद्धचित्त बिक्री नहुँदा किसान मारमा परेका छन् ।

बुद्धचित्तको दाना बिक्रीबाट राम्रो आम्दानी हुने भएपछि सुनापति गाउँपालिकाका किसानले १७ वर्ष अघि नै खेती शुरु गरेका थिए । यसअघि एउटै रुखबाट न्यूनतम ७५ हजारदेखि अधिकतम ६० लाख रुपैयाँसम्मका दाना बिक्री हुने गरेको थियो । तर अन्य बाली माया मारेर लगाएको बुद्धचित्त खरिद गर्ने व्यापारी नभएपछि किसान चिन्तित छन् ।

सिंचाइको अभावमा परम्परागत निर्वाहमूखी खेती गर्दै आएका किसान अहिले अन्य सबै छाडेर बुद्धचित्तको उत्पादनमा लागेका छन् । स्थानीय सरकारले किसानका समस्या समाधानका लागि अनलाइनमार्फत व्यापारी र बजारको खोजी गर्ने प्रयास भइरहेको जनाएको छ ।

गत आर्थिक वर्षमा मात्रै सुनापति गाउँपालिकाका किसानले बुद्धचित्त बिक्री गरेर २ करोड ५० लाख आम्दानी गरेका थिए । गत वर्षको अनुपातमा यस वर्ष उत्पादन धेरै भएको छ । दुई गाउँपालिकामा गरेर करिब २० करोड बराबरको बुद्धचित्तको दाना उत्पादन भएको किसानको दाबी छ । तर बिक्री नहुँदा करोडौंको आम्दानी डुब्ने चिन्ता बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *