खेलकूद

ओलम्पिकका लागि करातेका प्रशिक्षण सुरु, अन्य खेलका खेलाडी भने अनुमित कुर्दै (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १९ गते ७:३०
ओलम्पिकका लागि करातेका प्रशिक्षण सुरु, अन्य खेलका खेलाडी भने अनुमित कुर्दै (भिडियोसहित)

१९ कात्तिक, २०७७ काठमाडौं । कोरोनाका कारण रोकिएको खेल गतिविधि अरु देशमा शुरु भइसक्दा समेत नेपालमा अझैपनि खेलाडीलाई कसरी मैदानमा उतार्ने भन्ने अन्योल छ ।

विश्वकप छनोटको तयारीमा रहेको नेपालले बंगलादेशसँग दुई वटा मैत्रीपूर्ण फूटबलका लागि अभ्यास गरिरहेको छ । तर अरु खेलका खेलाडी अझै सहज रुपमा प्रशिक्षणमा फर्किन सकेका छैनन्। यस्तोमा टोकियो ओलम्पिकमा छनोट हुने लक्ष्यका साथ कराँते खेलाडी प्रशिक्षणमा फर्किएका छन् ।

खेलकुद चलायमान गराउनु पर्ने चौतर्फी दबाब परेपछि राष्ट्रिय खेलकुद परिषद राखेपले सिमित खेलाडीलाई मापदण्ड पूरा गरेर अभ्यास थाल्न अनौपचारिक निर्देशन दिइसकेको छ ।

खेलाडी आफैले विभिन्न माध्यमबाट खेलमा फर्किने वातावरण मिलाइदिन आग्रह गरे अनुसार छिटपुट तरिकाले खेलाडी अभ्यासमा फर्किइसकेका पनि छन् । यही मेसोमा कराते खेलाडीले पनि २०२१ को टोकियो ओलम्पिकका लागि तयारी थालेका छन् । पट्यारलाग्दो र निकै लामो घर बसाईपछि अभ्यासमा फर्किन पाएका खेलाडी निकै उत्साहित छन् ।

१३औं दक्षिण एसियाली खेलकूदका स्वर्ण विजेता नवीन र अनुसहित चार जनालाई मुख्य प्रशिक्षक दीपक श्रेष्ठले प्रशिक्षण दिइरहेका छन् । आवश्यक स्वास्थ्य मापदण्डसहित तयारी सुरु नगरी कोरोनालाई बहाना बनाएर खेलकुद गतिविधि रोक्न नहुने उनको तर्क छ ।

अन्तर्राष्ट्रियस्तरमा अन्य देशले अबलम्बन गरेका विधि जस्तै नेपाली खेलाडीलाई मास्क लगाएर अभ्यासमा उतार्नु पर्ने समय आएको र त्यसै अनुसार खेलाडीलाई फिटनेसका लागि अभ्यासमा बोलाएको उनी बताउँछन ।

हुनत यो बिचमा खेलाडीले व्यक्तिगत रुपमै पनि आफुलाई तयार पारिरहेका थिए । तर लामो समयको घर बसाईले फिटनेसको समस्या देखिएकोले नियमित प्रशिक्षणको वातावरण मिलाई दिन खेलाडीको आग्रह छ ।

प्रशिक्षणको सुरुमा खेलाडीको फिटनेसमा बढी ध्यान केन्द्रित गरिएको छ। तिहारसम्मका लागि साताको चार दिन र पछि नियमित मात्र प्रशिक्षण हुनेछ । तर नेपाली खेलाडीलाई टोकियो ओलम्पिक र्ङयाकिङका आधारमा त्यति सहज छैन ।

त्यसमाथि वाइल्ड कार्डका माध्यमबाट ओलम्पिक सहभागिता हुने लक्ष्यलाई समेत कोरोना महामारी थप बाधक बनेको छ । नेपाली खेलकुदको सर्बोच्च निकायले ओलम्पिक सहभागिता जनाउने सिमित खेलाडीलाई उचित वातावरण मिलाएर अवसर प्रदान गरे खेलाडीले लक्ष्य भेटाउन सक्ने थिए की ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्