दिल्ली र बेंग्लोर आईपीएलको प्लेअफमा प्रवेश

१८ कात्तिक, २०७७ काठमाडौं । दिल्ली क्यापिटल्स र रोयल च्यालेञ्जर्स बेंग्लोर इण्डियन प्रिमियर लीग आईपीएलको प्लेअफमा प्रवेशमा गरेका छन् ।
पछिल्लो खेलमा दिल्लीले बेंग्लोरलाई ६ विकेटले पराजित गरेपनि दिल्ली दोस्रो तथा बेंग्लोर तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेका हुन् ।
बेंग्लोरले प्रस्तुत गरेको १ सय ५३ रनको लक्ष्य दिल्लीले एक ओभर अगावै मात्र ४ विकेट गुमाएर भेट्टाएको थियो । दिल्लीको जितमा अजिंक्या राहानाले ६० तथा शिखर धवनले ५४ रनको इनिंग्स खेले । बलिङमा बेंग्लोरका साहबाज अहमेदले दुई विकेट लिए ।
यसअघि आबुधाबीस्थित शेख जायद रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको बेंग्लोरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५२ रन बनाएको थियो । उसका लागि देवदत्त पडीक्कलले ५०, एबी डिभिलियर्सले ३५ तथा कप्तान विराट कोहलीले २९ रन बनाए ।
बलिङमा दिल्लीका एनरिच नोर्जेले ३ तथा काशिगो रबाडाले दुई विकेट लिए । प्रतियोगिता अन्तर्गत आज लीग चरणको अन्तिम खेलमा साविक विजेता मुम्बई इण्डियन्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुनेछ ।
शीर्ष स्थानमा रहँदै मुम्बईले यसअघि नै प्लेअफमा स्थान पक्का पारिसकेको छ भने शीर्ष चारमा रहन हैदराबादलाई आजको खेल जित्नुको विकल्प छैन ।
प्रतिक्रिया