बोटे समुदायको पीडाः आयो दशैं ढोल बजाई, गयो दशैं ऋण बोकाई (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १७ गते २०:३०
बोटे समुदायको पीडाः आयो दशैं ढोल बजाई, गयो दशैं ऋण बोकाई (भिडियोसहित)

१७ कात्तिक, २०७७ तनहुँ । आयो दशैं ढोल बजाई, गयो दशैं ऋण बोकाई भन्ने नेपाली उखान छ । तनहुँको व्यास नगरपालिका वडा नम्बर १० कुमालटारीका बोटे समुदायलाई अहिले त्यस्तै भएको छ । उनीहरु दशैं मनाउन लागेको ऋण तिर्न अब नदी किनारमा सुन खोज्न जाने तयारीमा छन् ।

तनहुँको व्यास नगरपालिका वडा नम्बर १० कुमलटारीका बोटे समुदायलाई हरेक वर्ष दशैंले चिन्ता लिएर आउँछ । र ऋण बोकाएर जान्छ । यो वर्ष त झन बोटे समुदाय दोहोरो मारमा परेको छ । कोरोना महामारीले लामो समय काम गर्न नपाएकाले दशैंका बेला उनीहरुलाई ऋण लागेको छ । अब नदी किनारमा सुन खोजेर ऋण तिर्ने उनीहरुको योजना छ ।

दशैंको कोजाग्रत पूर्णिमाको केही दिनपछि नै बोटेहरु आफ्नो अनुकुल मिलाएर नदी किनारतर्फ सुन खोज्न निस्कन्छन् । छोराछोरीको लुगाफाटा दशैंमा नुन, तेल, मरमसला र मासु किन्दा लागेको ऋण सुन बेचेर तिर्ने गरेका छन् ।

कुमालटारीमा रहेका बोटे समुदायका ३२ घरमध्ये अधिकांशले बालुवा चालेर सुन निकाल्ने पेशा अपनाइरहेका छन् । खेती किसानीबाट ६ महिना पनि खान नपुग्ने भएपछि उनीहरु त्रिशुली, बुढीगण्डकी, काली गण्डकी नदीमा सुन खोज्न जान्छन् । सुन खोज्दा उनीहरु नदी किनारमा प्लाष्टिकको पाल टाँगेर बस्छन् । तर, पछिल्लो समय डोजर लगाएर जथाभावी नदी दोहन गरिँदा सुन पाउनै छाडेको उनीहरुको गुनासो छ ।

बोटे समुदाय सुनचाँदी पसलेबाट ऋण ल्याई खुशीका साथ दशैं मनाउछन् र दशैंलगत्तै सुन खोज्न निस्कन्छन् । यो क्रम वर्षौंदेखि चलिरहेको छ । पछिल्लो पटक नदीमा निकै कम मात्र सुन भेटिन थालेपछि उनीहरुमा चिन्ता बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *