आर्थिक

६० प्रतिशत छुटमा शुरु भयो पोखराको प्याराग्लाइडिङ (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १६ गते २०:३४
६० प्रतिशत छुटमा शुरु भयो पोखराको प्याराग्लाइडिङ (भिडियोसहित)

१६ कात्तिक, २०७७ काठमाडौं । समग्र पर्यटन क्षेत्र ठप्प जस्तै रहेका बेला पोखरामा प्याराग्लाईडिङ गर्न आन्तरिक पर्यटकको ओइरो लागेको छ ।

व्यवासायीले ६० प्रतिशतसम्म छुट दिएपछि प्याराग्लाइडिङका लागि घुँइचो लाग्न थालेको हो । कोरोना महामारिका कारण लामो लकडाउनले उकुसमुकुस भएका नागरिक आकाशमा उडेर रमाउन पाएपछि दंग छन् । अन्य पर्यटकीय गतिविधि नभए पनि प्याराग्लाइडिङले पोखराको पर्यटन क्षेत्रमा चहलपहल बढाएको छ ।

पर्यटकीय सहर पोखरा आउने धेरै पर्यटक एक पटक प्याराग्लाइडिङ गर्न चाहन्छन् । स्वदेशी मात्र हैन विदेशी पर्यटक सराङकोटबाट प्याराग्लाइडिङ गर्नका लागि मात्र पानि पोखरा पुग्छन् । कोरोना महामारीले बन्द भएको प्याराग्लाइडिङ लकडाउन र निषेधाज्ञा खुलेसँगै अहिले फेरी पुरानै लयमा फर्केको छ ।

विगतमा प्याराग्लाइडिङ चढ्न नेपालीभन्दा विदेशी पर्यटकको चाप हुन्थ्यो । अहिले विदेशी पर्यटक छैनन् । तर नेपाली पर्यटकले नै प्याराग्लाइडिङका लागि पालो पाउन मुस्किल छ ।

बन्दाबन्दीका कारण आफ्नो पेशाबाट बञ्चित भएका प्याराग्लाइडिङ पाइलट पनि अहिले व्यस्त छन् । लामो समयको अत्यासलाग्दो समय बिताएका उनीहरु सराङकोटबाट पर्यटकलाई माछापुच्छ्रे, फेवातालको दृष्य अवलोकन गराउँदै पुरानै लयमा फेवा किनारमा प्याराग्लाइडिङ ल्याण्ड गराउन पाउदाँ खुशी छन् ।

विगतका वर्षमा यही सिजनमा ४ सयको हाराहारीमा आन्तरिक र बाह्य पर्यटकले प्याराग्लाइडिङ चढ्थे । कोरोना संक्रमणका बिच पनि अहिले दैनिक ८ सयसम्म आन्तरिक पर्यटकले प्याराग्लाइडिङ चढ्ने गरेका छन् । कोरोना महामारी पहिले नेपाली पर्यटकले प्याराग्लाइडिङ गर्न ८ हजार तिर्नुपथ्यो । व्यवसायीले अहिले यो शुल्कमा ६० प्रतिशतसम्म छुट गरेका छन् ।

बितेका वर्षमा प्याराग्लाइडिङ गर्नेमध्ये ७५ प्रतिशत विदेशी पर्यटक र २५ प्रतिशत मात्र आन्तरिक पर्यटक हुन्थे । कोरोना महामारीले थलिएको व्यवसाय उठाउन भन्दै शुल्कमा छुट दिइएपछि आन्तरिक पर्यटकको चाप बढेको छ ।

अहिले प्याराग्लाइडिङ गर्न अग्रिम बुकिङ गर्नुपर्ने अवस्था छ । प्याराग्लाइडिङ जस्तै व्यवसायीले अन्य क्षेत्रमा पनि यस्तै छुट प्याकेज घोषणा गर्न सके कोरोनाले थलिएको पर्यटन चलायमान बनाउन सहयोग पुग्ने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *