आइपीएलमा हैदराबाद विजयी, बेंग्लोर ५ विकेटले पराजित
१६ कात्तिक, २०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग (आईपीएल) मा सनराइजर्स हैदराबाद विजयी भएको छ ।
आईपीएलअन्तर्गत पछिल्लो खेलमा हैदराबादले रोयल च्यालेञ्जर्स बेंग्लोरलाई ५ विकेटले पराजित गरेको हो । १ सय २१ रनको सामान्य लक्ष्य हैदराबादले १४ दशमलव १ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको थियो ।
हैदराबादका लागि रिद्दीमान साहाले ३९ तथा मनिष पाण्डेले २६ रन बनाए । त्यस्तै ज्यासन होल्डर २६ रनमै रनमा अविजित रहे । बलिङतर्फ बेंग्लोरका युजभेन्द्र चहेलले दुई विकेट हात पारे ।
यसअघि शारजाह क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको बेंग्लोरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २० मात्र बनाउन सक्यो । बेंग्लोरका जोश फिलिपेले ३२, एबी डिभिलियर्सले २४ तथा बासिंगटन सुन्दरले २१ रन जोडे ।
बलिङमा हैदराबादका संदीप शर्मा र ज्यासन होल्डरले समान दुई(दुई विकेट लिए । जितसँगै हैदराबाद चौथो स्थानमा उक्लिंदा बेंग्लोर दोस्रो स्थानमा कायमै छ । बेंग्लोर र हैदराबाद दुबैको प्लेअफको सम्भावना कायमै छ ।
यसअघि हिजै भएको पहिलो खेल शीर्ष स्थानको मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्समाथि ९ विकेटको जित निकालेको थियो ।
प्रतियोगितामा आज किंग्स इलेभेन पञ्जाब र चेन्नई सुपर किंग्स तथा कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया