आर्थिक

उच्च सतर्कता अपनाएर खोलियो तातोपानी नाका (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १५ गते २०:१९
उच्च सतर्कता अपनाएर खोलियो तातोपानी नाका (भिडियोसहित)

१५ कात्तिक, २०७७ काठमाडौं । नेपाल–चीनबीचको उत्तरी नाका तातोपानी फेरि खुलेको छ । कोरोना रोकथामका लागि आवश्यक स्वास्थ्य मापदण्ड अपनाई नाका र सुख्खा बन्दरगाह सञ्चालनमा ल्याइएको हो । नाका खुलेपछि चीनबाट सामान आउन थालेको छ ।

२०७२ सालको भूकम्पपछि लामो समय बन्द भएर खुलेको तातोपानी नाका केही समयमा नै पुनः बन्द भएको थियो । बीचमा खुलेको नाका पछिल्लो पटक कोरोना संक्रमणको जोखिमका कारण पुनः बन्द हुन पुगेको थियो ।

तर अहिले भने कोरोना संक्रमण रोकथामका लागि नाकामा उच्च सावधानी अपनाउँदै चिनियाँ ब्यापारीले अलपत्र परेको नेपाली ब्यवसायीका सामान नेपाल पठाउन थालेका हुन् । तातोपानी भन्सार सुख्खा बन्दरगाहमा स्वास्थ्य मापदण्डको नयाँ मोडालिटी लागू गरिएको छ । श्रमीकहरुलाई स्वास्थ्य मापदण्ड सहित आइसोलेटेड क्षेत्रमा सामान लोड अनलोड गर्ने व्यवस्था मिलाइएको छ ।

अहिले मितेरी पुल वारीसम्म चिनियाँ कन्टेनरले सामान ल्याइदिने गरेका छन् । चिनियाँ पक्षले नेपालको पुरानो भन्सार यार्डमा सामान ल्याइदिने र त्यहाँबाट चिनियाँ कन्टेनर फर्किएपछि मात्रै नेपाली कामदार र नेपालको कन्टेनर जाने व्यवस्था मिलाइएको छ ।

लामो समय नाका सञ्चालन नहुँदा स्याउ लगाएतका खाद्य सामग्री आयात गर्ने व्यापारी मर्कामा परेका थिए । आफुहरुले आयात गरेको स्याउ तीन लटसम्म कुहिएको व्यापारीहरुले बताएका छन् । अब भने नाका निरन्तर खुल्नुपर्ने उनीहरुको माग छ ।

नाका सञ्चालनामा आँउदा स्थानीय बासिन्दालाई समेत रोजगारीको अवसर हुने भएकोले नाका निरन्तर खुल्नुपर्ने स्थानीय श्रमिकहरुले बताएका छन् । सामान लोड गर्ने नेपाली श्रमिकलाई क्वारेन्टाइनमा राखिएको छ भने प्रत्येक १४ दिनमा पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाइएको छ ।

नेपालतर्फका सवारी साधनहरु सामान लिन जानका लागि अनिवार्य निर्मलिकरण गर्नुपर्ने व्यवस्था पनि गरिएको छ । नाका खुलेसँगै दैनिक चारदेखि छ वटा कन्टेनरसम्म सामान आयात भइराखेको भन्सार कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *