आर्थिक

तिहारसम्म नरहने भयो सयपत्री फूल, यसो भन्छन् व्यवसायी र किसान (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १४ गते २०:३७
तिहारसम्म नरहने भयो सयपत्री फूल, यसो भन्छन् व्यवसायी र किसान (भिडियोसहित)

१४ कात्तिक, २०७७ काठमाडौं । तिहारका लागि चाहिने फूल अहिले नै बारीमा ढकमक्क फुलेको छ । तिहारको रमझम शुरु हुन दुई हप्ता बाँकी छ । र यो दुई हप्तामा बारीको फूल सुक्ने डर छ ।

त्यसैले माग अनुसार फूल आपूर्ति हुन नसक्दा बजार प्रभावित हुने देखिएको छ । तर व्यवसायी भने तिहारमा स्वदेशी फूलले नै माग धान्नेमा ढुक्क छन् ।

विगतका वर्षमा यतिबेला तिहार सकिइसकेको हुन्थ्यो तर यसपटक अधिकमासका कारण दशैं तिहार नै झण्डै एक महिना पछाडि धकेलियो । जसले गर्दा असोज–कात्तिकमा फुल्ने सयपत्री र गोदावरी फूल तिहारमा नपाइने हो कि भन्ने चिन्ता छ । किनकी बारीमा ढकमक्क फुलेको सयपत्री सुक्न थालिसकेको छ । त्यसैले तिहारसम्म रहँदैन भनेर किसानले टिपेर सस्तोमै बेच्न थालिसकेका छन् ।

अहिले किसानलाइ मात्रै होइन व्यावसायिक फूल खेती हुँदै आएका फार्मको फूल पनि सुक्ने हो कि भन्ने चिन्ता छ । त्यसैले व्यवसायीलाई तिहारसम्म सयपत्री फूल जोगाइराख्न समस्या परेको छ ।

किसानलाई फूल सुक्ने र उपभोक्तालाई फूल नपाउने चिन्ता छ । तर पनि कुनै असर नहुने फूल व्यवसायीको विश्वास छ । क्यालेण्डरका आधारमा फूल खेती गरिएकाले नेपाली उत्पादनले नै तिहारको माग सहजै धान्नेमा उनीहरु ढुक्क छन् ।

घरेलु किसानले उत्पादन गरेको फूल तिहार अगाडी नै सुकेर जाने भए पनि व्यावसायिक फूलको उत्पादन निरन्तर चलिरहेकोले तिहारमा केही असर नपर्ने फ्लोरिकल्चर एसोसिएसन अफ नेपालको दावी छ ।

गत वर्ष तिहारमा मखमलीको माला ६ लाख र सयपत्रीको माला २० लाख गरी कुल २५ लाख माला खपत भएको थियो । यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण फूलको माग कम हुने आँकलन छ । यसले गर्दा पनि व्यवसायी फूल पुग्नेमा ढुक्क छन् । तर महँगो भने पर्न सक्नेछ ।

पुष्प व्यवसायीले नेपाली फूलले बाह्रै महिनाको माग धान्ने दाबी गर्छन् । तैपनि विदेशबाट फूल आयात भने रोकिएको छैन । पोहोर पनि १० लाख फूलका माला भारतबाट आयात भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *