आर्थिक

आधुनिकताले यसरी खायो परम्परागत खाडी कपडा उत्पादन (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १४ गते १७:२७
आधुनिकताले यसरी खायो परम्परागत खाडी कपडा उत्पादन (भिडियोसहित)

१४ कात्तिक, २०७७ धनकुटा । धनकुटामा उद्योगबाट निर्मित कपडा गाउँगाउँसम्म नपुग्दा गाउँघरमै स्थानीय कच्चा पदार्थ र घरेलु प्रविधिबाटै खाडी कपडा उत्पादन गरी लाउने गरिएको थियो । एकताका गाउँले जनजीवनसँग चिरपरिचित यो कपडा अहिले भने संकटमा पर्दै गएको छ ।

बजारको पहुँच नहुँदा गाउँघरमै स्थानीय कच्चा पदार्थबाट खाडीका कपडा उत्पादन गरी प्रयोग गरिथ्यो । उद्योगबाट निर्मित कपडाको विकल्पको रुपमा सबैले यही कपडा प्रयोग गर्दथे । करिब चार दशक अघिसम्म धनकुटाको खाल्सा क्षेत्रमा प्रत्येक घरमा खाडीको कपडा बुन्ने तान भेटिन्थ्यो ।

कपास उत्पादन गरेर कपासबाट धागो कातेर सर्ट, कोट, पाइन्ट, धोती, पटुकी, सिरकका खोललगायत निर्माण हुन्थ्यो । त्यो बेला अरु कपडा नपाइने भएकाले सबै कपडाको विकल्पको रुपमा यही कपडा प्रयोग गर्ने गरेको वृद्धवृद्धाको अनुभव छ ।

अहिले गाउँगाउँसम्म बजार विकास भयो । सँगै ग्रामीण क्षेत्रका बासिन्दाको आर्थिक अवस्थामा समेत सुधार भयो । अहिले आयातित कपडा निकै सस्तो पर्ने भएकाले घरेलु प्रविधिको प्रयोग गरेर प्राकृतिक रुपमा निर्माण गरिने यस्ता खाडीका कपडासमेत लोप हुने अवस्थामा पुगेका छन् ।

अहिले गाउँघरमा न त खाडीका कपडा नै पाइन्छ न त त्यो बुन्ने तान नै । निकै दुर्लभरुपमा मात्र तानहरु देख्न पाइन्छ ।

उसो त यो कपडा उत्पादन गर्न निकै मेहनत गर्नुपर्ने हुन्छ । अहिले धागो किन्न पाइने भए पनि त्यसका लागि आवश्यक पर्ने अन्य कच्चा पदार्थको जोहो गर्न जंगल जानुपर्ने हुन्छ । जहाँबाट आवश्यक कच्चा पदार्थ ल्याएर धागोलाई कच्चा पदार्थमा पकाएपछि बल्ल धागो पूर्णरुपमा तयार हुन्छ । धागोलाई सुकाएर पल्ला परेपछि मात्र तानमा कपडा बुन्ने काम शुरु गरिन्छ । सबै प्रक्रिया पूरा गर्दा एक हप्ताभन्दा बढी् समय लाग्छ ।

सौखिनहरुका लागि भने यो कपडा अहिले पनि उत्तिकै महत्व छ । तर यसको लागत नै महंगो पर्ने भएकाले विक्रीवितरण गर्न भने निक्कै समस्या छ ।

पूर्ण रुपमा घरेलु प्रविधिको प्रयोग गरेर प्राकृतिक रुपमै निर्माण गरिएको कपडा प्रतिसेट ८ हजारभन्दा माथि पर्न जान्छ । आधुनिकता संगै खाडीकै जस्तो देखिने कपडा मेसिन प्रयोग गरेर मेत उत्पादन हुने गरेको छ । मेसिनबाट उत्पादन गरिएको कपडा भने निकै सस्तो पर्ने भएकाले घरमा उत्पादित कपडा विक्री हुन कठिन छ ।

खाल्सा क्षेत्रमा मात्र अहिले पनि १ सयभन्दा बढीले खाडी कपडा उत्पादन गर्दै आएका छन् । त्यसमध्ये केहीले व्यवसायिक रुपमै उत्पादन गर्दै आएका छन् । यो संरक्षण र प्रवर्द्धनमा भने कसैले चासो दिएको पाइँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *