विदेश

भारत–चीन सीमा विवादमा हस्तक्षेप नगर्न अमेरिकालाई चीनको चेतावनी

हिमालय टिभी
२०७७ कार्तिक १२ गते १५:०७
भारत–चीन सीमा विवादमा हस्तक्षेप नगर्न अमेरिकालाई चीनको चेतावनी

१२ कात्तिक, २०७७ नयाँ दिल्ली । चीनले भारतसँगको सीमा सम्बन्धी विवादमा हस्तक्षेप नगर्न अमेरिकालाई कडा चेतावनी दिएको छ ।

दिल्लीस्थित चिनियाँ दूतावासले विज्ञप्ति निकालेर भारत भ्रमणको क्रममा अमेरिकी विदेशमन्त्री माइक पम्पियोले दिएको अभिव्यक्तिको पनि आलोचना गरेको छ ।

भारतका विदेशमन्त्री एस जयशंकर र रक्षामन्त्री राजनाथ सिंहसँगको भेटघाटपछि अमेरिकी विदेशमन्त्री पम्पियोले, चीनले प्रजातन्त्र, कानूनी शासन र पारदर्शितालाई नमानेको आरोप लगाएका थिए ।

यस्तै उनले चीनसँगको सीमा विवादमा आफूहरु भारतको साथमा रहेको बताएका थिए । अमेरिकी विदेशमन्त्री पम्पियोको यो भनाइप्रति चीनले आपत्ति जनाएको हो ।

दूतावासले भारत र चीनबीचको सीमा विवाद द्विपक्षीय भएको र समस्या समाधान गर्नका लागि बारम्बार वार्ता भइरहेको समेत उल्लेख गरेको छ । उसले भारतसँगको सीमा विवाद समाधानका लागि तेश्रो पक्षको आवश्यकता नरहेको पनि स्पष्ट परेको छ ।

दिल्लीस्थित चिनियाँ दूतावासले अमेरिकी अधिकारीहरुले बारम्बार झुटो बोलिरहेको र कूटनीतिको आधारभूत सिद्धान्तविपरीत चीनमाथि गलत आरोप लगाइरहेका दावी गरेको छ ।

भारतसँगको रक्षा सम्बन्धी सूचना आदानप्रादन गर्ने सम्झौतामा हस्तक्षर गर्न अमेरिकी विदेशमन्त्री नयाँ दिल्ली आएका थिए ।

रक्षासम्बन्धी केही संवेदनशील स्याटलाइट तस्वीर, नक्सालगायतका सूचनाहरु भारत र अमेरिकाबीच एक आपसमा आदानप्रदान गर्ने सम्झौता यी दुई देशबीच भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *