आर्थिक

दशैंका कारण बिजुली खेर जाँदा प्राधिकरणलाई दैनिक ३ करोड नोक्सानी

हिमालय टिभी
२०७७ कार्तिक १२ गते १३:१३
दशैंका कारण बिजुली खेर जाँदा प्राधिकरणलाई दैनिक ३ करोड नोक्सानी

१२ कात्तिक, २०७७ काठमाडौं । दशैंका कारण बिजुली खेर जाँदा नेपाल विद्युत प्राधिकरणले दैनिक करिब ३ करोड रुपैयाँ नोक्सानी व्यहोरिरहेको छ ।

हाल दैनिक ३० लाख युनिटभन्दा बढी बिजुली खेर गइरहेको छ । प्राधिकारणको भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईका अनुसार अहिले दिउँसो २ सय मेगावाट, राती ३ सय मेगावाटसम्म बिजुली खेर गइरहेको छ ।

३ सय मेगावाट आवर बिजुली एक घण्टा खेर जाँदा ३० लाख युनिट खेर जान्छ । ३० लाख युनिट बिजुली खेर जाँदा प्राधिकरणलाई दैनिक करिब ३ करोड रुपैयाँ नोक्सान हुन्छ ।

अहिले दैनिक ३ करोडको बिजुली खेर जाँदा नेपाल विद्युत प्राधिकरणसँग तत्कालै खपत बढाउने अथवा भारत पठाउन सकिने अवस्था छैन ।

भट्टराईका अनुसार हिजोआज साँझको पिक आवरमा १२ सय मेगावाटसम्म बिजुलीको माग छ । दिउँसो ७ सय मेगावाटसम्म माग हुन्छ । राति ५ सय देखि साढे ५ मेगावाटमा झर्छ ।

हरेक घण्टा बिजुलीको मागको ‘परिमाण’ परिवर्तन हुने हुँदा घरी भारतबाट बिजुली ल्याउनुपर्ने, घरी भएको पनि खेर फाल्नुपर्ने बाध्यता प्राधिकरणलाई छ ।

बिहारमा बिजुली आदानप्रदान गर्न सकिने भएपनि यो वर्ष बिहार सरकारले पनि बिजुली लिन चासो देखाएको छैन । प्राधिकरणलाई अबको केही हप्ता खपत र निर्यात नभएर खेर जाने बिजुलीको व्यवस्थापन समस्याको विषय बन्ने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *