इंग्लिस प्रिमियर लीगमा एभर्टनको अपराजित यात्रा टुंगियो
१० कात्तिक, २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा एभर्टनको अपराजित यात्रा टुंगिएको छ ।
गएराति सम्पन्न खेलमा साउथ ह्याम्टनले शीर्ष स्थानको एभर्टनमाथि २–० गोलको जित निकालेको हो । साउथ ह्याम्टनले दुबै गोल खेलको पहिलो हाफमै गरेको थियो ।
घरेलु मैदानमा साउथ ह्याम्टनका लागि २७ औं मिनेटमा जेम्स वार्ड प्रावसी र ३५ औं मिनेटमा ची एडम्सले गोल गरे । ७२ औं मिनेट एभर्टनका लुकास डिग्नीले रातो कार्ड पाएका थिए ।
हार पश्चात पनि शीर्ष स्थानमै रहेको एभर्टनको ६ खेलबाट १३ अंक रहेको छ । उता जितपछि साउथह्याम्टन छैठौं स्थानमा उक्लिएको छ ।
लीग अन्तर्गत गएराति नै भएको अर्को खेलमा लेष्टर सिटीले आर्सनललाई १–० गोलले हरायो । सिटीका लागि ८० औं मिनेटमा जेमी भर्डीले गरेको गोल नै निर्णायक रह्यो ।
यस्तै अर्को खेलमा वुल्भ्स र न्यूक्यासल युनाइटेडले १–१ को बराबरी खेलेका छन् ।
प्रतिक्रिया