पूँजीगत खर्च बढाउन नीतिगत सुधार आवश्यकः अर्थमन्त्री पौडेल (भिडियोसहित)

८ कात्तिक, २०७७ काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्च बढाउन नीतिगत सुधार नै आवश्यक भएको बताउनुभएको छ ।
पूँजीगत खर्च निकै कम रहेका बेला नवनियुक्त अर्थमन्त्री पौडेलले आफ्नो प्रयास त्यसलाई सुधार्नेमा केन्द्रीत रहेको बताउनुभएको हो ।
कामको गति अघि बढाउनुका साथै नीतिगत प्रबन्ध गरेर कमजोर पूँजीगत खर्चको अवस्थामा सुधार गर्ने मन्त्री पौडेलको दावी छ ।
राजश्व परिचालनको पाटो पनि अहिले चुनौतिपूर्ण रहेको अर्थमन्त्री पौडेलले बताउनुभयो । कोरानाको प्रभावकाबीच सुरक्षाका उपाय अपनाएर उत्पादनका काम बढाउने र राजश्वको लक्ष्य पुरा गर्ने पनि मन्त्री पौडेलको विश्वास छ ।
बजेटको मध्यावधि समीक्षा गरेर बजेट कार्यान्वयनमै जोड दिने भन्दै मन्त्री पौडेलले पुरक बजेट ल्याउनुपर्ने अवस्था भने नरहेको पनि बताउनुभयो ।
यस्तै सरकार र राज्यका विभिन्न निकायले खर्चमा मितव्ययिता अपनाउने विषयमा आफ्नो ध्यान केन्द्रीत भएको पनि अर्थमन्त्री पौडेलले बताउनुभयो ।
सरकारका खर्चमा मितव्ययिता कायम गर्ने, अर्थतन्त्र पुरानै लयमा फर्काउने लगायतको विषयमा आफू रणनीतिक रुपमा अगाडि बढ्ने तयारीमा रहेको पनि उहाँले दावी गर्नुभयो ।
प्रतिक्रिया