आर्थिक

व्यवसायिक किसानलाई क्रेडिट कार्ड दिने तयारी अन्तिम चरणमा

हिमालय टिभी
२०७७ कार्तिक ८ गते १३:०२
व्यवसायिक किसानलाई क्रेडिट कार्ड दिने तयारी अन्तिम चरणमा

८ कात्तिक, २०७७ काठमाडौं । व्यावसायिक कृषिमा लागेका र कृषि क्षेत्रलाई नै जीविकोपार्जनको मुख्य आधार बनाएकाका लागि सरकारले ल्याउन लागेको किसान क्रेडिट कार्ड अन्तिम चरणमा पुगेको छ ।

यो कार्ड जारी गर्नका लागि जिम्मेवारी पाएको कृषि विकास बैङ्कले धेरै प्राविधिक काम पूरा गरिसकेको जनाएको छ ।

बैङ्कका प्रवक्ता हिमलाल पौडेलले कार्डका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र कार्यविधि तयार भएपछि दशैँपछि कार्ड वितरण सुरु गर्ने तयारीमा रहेको बताउनुभयो ।

कार्यविधिमार्फत क्रेडिट कार्ड कसरी सञ्चालन गर्ने, कस्ता ग्राहकलाई दिने, ग्राहक पहिचान कसरी गर्ने, खाता भएकालाई मात्रै दिने कि नभएकालाई पनि दिनेलगायतका व्यवस्था गरिएपछि सुरु गरिने उहाँको भनाइ छ ।

नेपाल राष्ट्र बैङ्कको आर्थिक वर्ष २०७७र७८ को मौद्रिक नीतिमा किसानले पैसा नभएका बेलामा पनि सहजै मल, बीउ, कृषि औजारलगायत सामग्री खरिद गर्न सहजता प्रदान गर्न किसान क्रेडिट कार्डको व्यवस्था गर्ने उल्लेख छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पनि आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरेको किसान क्रेडिट कार्ड कार्यान्वयन गर्न नेपाल राष्ट्र बैङ्कले कृषि विकास बैङ्कलाई सुम्पेको छ । एटीएम बुथमा नचल्ने यो कार्डले सुरुवाती चरणमा कृषि विकास बैङ्कबाट लिएको ऋणको थप किस्ता झिक्न चेक बोकेर बैङ्कसम्म किसान धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने प्रवक्ता पौडेलको भनाइ छ ।

किसान क्रेडिट कार्ड बनेपछि स–साना कृषि कामका लागि चाहिने थोरै रकम निकाल्न कृषक बैङ्कसम्म पुग्नुपर्दैन भने हरेक गाउँमा पैसा होल्ड हुँने हुँदा कृषकले आफ्नो कृषि कर्म अगाडि बढाउन सहज हुनेछ ।

पछिल्लो समय निजी क्षेत्रका बैङ्कले पनि किसानको समृद्धिका लागि र व्यावसायिक किसानलाई प्राथमिकतामा राख्दै धमाधम किसान क्रेडिट कार्ड सञ्चालनमा ल्याउन थालेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *