मुम्बई इन्डियन्स आइपीएलको शीर्ष स्थानमा फर्किँदा चेन्नई १० विकेटले पराजित

८ कात्तिक, २०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग (आइपीएल)मा साविक विजेता मुम्बई इण्डियन्स शीर्ष स्थानमा फर्किएको छ ।
आइपीएल अन्तर्गत गएराति चेन्नई सुपर किंग्समाथि १० विकेटको शानदार जित निकाल्दै मुम्बईले फेरी शीर्ष स्थान कब्जा गरेको हो ।
१ सय १५ रनको मध्यम लक्ष्य मुम्बईले मात्र १२ दशमलव २ ओभरमा बिना विकेट गुमाएर पूरा गरेको थियो । मुम्बईका इशान किशन ६८ तथा क्वीन्टन डिकक ४६ रनमा अविजित रहे ।
यसअघि शारजाह क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १४ रन मात्र बनाउन सक्यो । एक समय ३० रनमा ६ विकेटको स्थितिमा रहेको चेन्नईको इनिंग्स स्याम करनले केही सम्हालेका थिए । करन ५२ रनमा पेभेलियन फर्के ।
त्यस्तै कप्तान महेन्द्र सिंह धोनीले १६ रन बनाउँदा इमरान ताहिर १३ रनमा अविजित रहे । चेन्नईका ६ जना ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । बलिङमा मुम्बईका ट्रेन्ट बोल्टले चार तथा जसप्रित बुमराह र राहुल चहरले समान दुई(दुई विकेट लिए । बोल्ट म्यान अफ द म्याच भए ।
जितपछि मुम्बईले १० खेलबाट १४ अंक जोड्दा तालिकाको पुछारमा रहेको चेन्नईले एक खेल बढी खेल्दै मात्र ६ अंक जोडेको छ ।
प्रतियोगिता अन्तर्गत आज दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स तथा सनराइजर्स हैदराबाद र किंग्स एलाभेन पञ्जाबबीच खेल हुनेछ ।
प्रतिक्रिया