समाज

पर्सामा नेकपाको गुटगत झगडामा एक स्थानीय नेताको गयो ज्यान, वीरगञ्जमा प्रदर्शन (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक ७ गते १९:०७
पर्सामा नेकपाको गुटगत झगडामा एक स्थानीय नेताको गयो ज्यान, वीरगञ्जमा प्रदर्शन (भिडियोसहित)

७ कात्तिक, २०७७ पर्सा । सत्तारुढ नेकपाको गुटगत झगडामा पर्सामा नेकपाका एक स्थानीय नेताको ज्यान गएको छ ।

विन्दबासिनी गाउँपालिकाको पार्टी कमिटीका सचिव महेश चौरसियाको झडपमा ज्यान गएको हो । वडानम्बर ५ को शपथ ग्रहण समारोहमा नेकपा पर्सा अध्यक्ष प्रभु हजारा र सचिव विजय महतोको समूहबीच हिजो कार्यक्रममै कुटाकुट हुँदा घाइते भएका चौरसियाको आज ज्यान गएको हो ।

हजारा ओली पक्षीय र मृतक चौरसिया प्रचण्ड पक्षीय स्थानीय नेता रहेको बुझिएको छ । टाउकोमा गम्भीर चोट लागेका चौरसियाको पानीटंकीस्थित एल एस न्यूरो अस्पतालमा मृत्यु भएको हो । चौरसियाको निधनपछि विन्दबासिनी गाउँमा तनाव छ ।

दोषीमाथि कारवाहीको माग गर्दै आज वीरगञ्जमा प्रदर्शन भएको छ । चौरिसयाका हत्यारामाथि कारवाही गर्न नेकपा कार्यकर्ताले माग गरेका छन । तर प्रहरीले मुद्दा दर्ता गर्न नमानेको उनीहरुको गुनासो छ ।

यसैबीच घट्नाबारे बुझ्न नेकपाका नेता एवं पूर्वमन्त्री सुरेन्द्र पाण्डे र मात्रिका यादव वीरगञ्ज पुग्नुभएको छ । प्रहरीले मुद्दा दर्ता गर्न नमानेपछि नेकपको एउटा समूहले दर्ता दबाब दिइरहेको छ । तर ओली पक्षका नेता कार्यकर्ता मुछिने आशंका प्रहरीले मुद्दा दर्ता नगर्न नमानेको अर्को पक्षको आरोप छ ।

हिमालय टेलिभिजनसँग संक्षिप्त कुरा गर्दै नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले अपराधी जो सुकै भएपनि कारवाही हुनुपर्ने र कसैले छुट दिन नहुने बताउनुभयो ।

नेकपाका अर्का नेता मात्रिका यादवले मुद्दा दर्ता नभएसम्म र समस्या समाधान गर्न वीरगञ्ज नछोड्ने बताउनुभयो ।

हिजो ओली र प्रचण्ड पक्षका नेता तथा कार्यकर्ताबीच झडप हुँदा कम्तिमा १२ जना घाइते भएका थिए । ती मध्ये एक जनाको ज्यान गैसकेको छ भने अर्का घाइते उत्तम तिवारीको नारायणी अस्पतालमा उपचार भैरहेको छ ।

तिवारीको अवस्था चिन्ता जनक रहेको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिनुभयो । तिवारीको पनि टाउकोमै चोट लागेको छ । घटनामा संलग्न देवा सहनी, सुकवीन गद्दी र अनिस मियालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *