आर्थिक

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान नकिन्दा बाँकेका किसान समस्यामा (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक ७ गते १७:३८
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान नकिन्दा बाँकेका किसान समस्यामा (भिडियोसहित)

७ कात्तिक, २०७७ नेपालगञ्ज । सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरीद सुरु नगर्दा बाँकेका किसान सस्तो मूल्य मै धान विक्री गर्न बाध्य भएका छन् ।

सरकारको स्वामित्वमा रहेको खाद्य कम्पनीले ६० हजार मेट्रिक टन धान खरिद गर्ने लक्ष्य राखेर एक अर्ब ७९ करोड ३१ लाख ५५ हजार बजेट समेत छुटटाएको थियो । तर धान खरिद शुरु गरेको छैन ।

बाँके र बर्दियाका किसानको खेतमा धान पाकिसकेको छ । तर सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान किन्न थालेको छैन । धान किसानको खेतमा नष्ट हुने खतरा बढेको छ । नोक्सानीबाट बच्न किसानले धान काटेर बेच्न थालेका छन् ।

तर व्यापारीले सरकारले तोकेको प्रतिक्विन्टल मुल्यभन्दा १ हजार रुपैयाँ कममा धान किनेका छन् । व्यापारीले प्रतिक्विन्टल १८ सय देखि २ हजार। रुपैयाँ मात्र दिए पनि किसान उनीहरुलाई नै धान दिन बाध्य छन् । लामो समयदेखिको लक डाउन र निषेधाज्ञाको मारमा परेका किसान अहिले धान सस्तोमै बेच्न पर्दा थप पीडित छन् ।

तयार भएको धान बेचेर किसानले लकडाउनका बेला लागेको ऋण तिर्ने, चाडपर्ब मनाउने र गहुँ खेतीका लागि मल बिउको जोहो गर्नु पर्ने बाध्यता छ । यसले गर्दा किसान बिचौलिया र स्थानीय व्यापारीलाई सस्तोमा नै धान बेचिरहेका छन् ।

सरकारले असारको ३ गते मोटा धानको मूल्य प्रतिक्विन्टल २ हजार ७ सय ३५ र मध्यम धानको २ हजार ८ सय ८५ रुपैँया तोकेर खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत किसानले उत्पादन गरेको धान खरिद गर्ने घोषणा गरेको थियो । तर स्थानीय व्यापारी भने सरकारले तोकेको मूल्य आफूहरुलाई थाहै नभएको जिकिर गरिरहेका छन् ।

तर सरकारी स्वामित्वमा रहेको खाद्य कम्पनीको नेपालगन्ज शाखाका कर्मचारी भने कोरोना संक्रमण, चाडपर्ब, धान भर्ने बोराको अभाब जस्ता समस्या देखाएर मंसिरको ७ गतेदेखि धान खरिद गर्ने निर्णय गरेर दुक्कसँग चाडपर्ब मनाउन लागेका छन ।

सरकारले धान रोप्नुभन्दा पहिले नै धानको न्युनतम मुल्य तोकेर धान किनि दिने ग्यारेन्टी गरेका कारण उत्साहित भएका किसानहरु खाद्य कम्पनीले धान खरिद गर्न ढिलाई गरेका कारण समस्यामा परेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *