समाज

कुहिएको मासु बेच्दै महोत्तरीका मासु पसल (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक ५ गते २०:१८
कुहिएको मासु बेच्दै महोत्तरीका मासु पसल (भिडियोसहित)

५ कात्तिक, २०७७, महोत्तरी । महोत्तरीको जलेश्वरका मासु पसलले कुहिएको मासु बेचेको पाइएको छ । मासु पसल अस्तव्यस्त र घिनलाग्दो अवस्थामा भेटिएका छन् ।

अनुगमनका क्रममा जलेश्वरका अधिकांश मासु पसल घिनलाग्दो, मापदण्ड पूरा नगरेको अवस्थामा भेटिएको र कुहिएको मासुसमेत बेचेको पाइएको भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रले जनाएको छ ।

मासु काट्ने ठाउँ वरपर फोहोर छ । खुला राखिएको मासुमा झिँगा भन्किएको छ । र, यही मासु विक्री भैरहेको छ । अनुगमन टोली बुधबार बिहान अनुगमन गर्दा यस्तो भेटाएको हो । एकातिर बेच्ने ठाउँमा यो हालत छ भने बधशाला पनि त्यत्तिकै फोहोर छ र पशुको स्वास्थ्य जाँच गर्ने चलन नै छैन ।

जलेश्वर नगरपालिकाले लाखौं खर्चेर संचालन गरेको पशु बधशाला समेत प्रयोगविहीन छ । बधशालामा एक जनाले मात्र पसल राखेका छन्, त्यो पनि बाहिर बजारको भन्दा झन फोहोर छ ।

अनुगमन टोलीले मासु पसल तत्काल मापदण्ड पूरा गरी २१ दिनभित्र दर्ता गरिसक्न र बधस्थल र बेच्ने ठाउँ पूर्ण रुपमा सफा राख्न निर्देशन दिएको छ ।

पशु वधशाला र मासु जाँच ऐन–२०५५ ले तोकेको स्थानमा मात्र बध गर्नुपर्ने, पशु वध गर्नुअघि जाँच्नुपर्ने, मासु निरीक्षकबाट जँचाएर मात्र बेच्ने, कुनै वस्तुसँग मिसाएर मासु बेच्न नपाइने, छाला भएको मासु बेच्न नपाइने जस्ता नीतिगत व्यवस्था गरेको छ । तर ऐन कार्यान्वयन भएको छैन । यसले नागरिकको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *