कोरोना कहरमा रेमिट्यान्स भने झन बढ्यो

Himalaya Television
२०७७ कार्तिक ५ गते १७:११

कोरोना कहरमा रेमिट्यान्स भने झन बढ्यो

५ कात्तिक, २०७७ काठमाडौं । साउन र भदौमा रेमिट्यान्स ८ दशमलव १ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकले देशको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै साउन र भदौमा १ खर्ब ६५ अर्ब ७३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको जनाएको हो ।

कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा गएका धेरै युवाले रोजगारी गुमाएको र कामको खोजीमा विदेशिने संख्या करिब ठप्प हुँदा समेत रेमिट्यान्स उल्टै बढेको हो ।

डलरमा पनि रेमिटेन्स २ दशमलव ६ प्रतिशतले बढेर १ अर्ब ३९ करोड डलर पुगेको छ । रेमिट्यान्स बढे पनि वैदेशिक रोजगारीमा जानेको संख्या यो अवधिमा करिब ठप्प नै रहेको पाइएको छ ।

साउन र भदौमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या ९९ दशमलव २ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । साउन र भदौमा आयात २२ प्रतिशतले घटेको र निर्यात साढे १० प्रतिशतले बढेको छ ।

रेमिट्यान्स आप्रवाह र निर्यातमा वृद्धि तथा आयातमा आएको कमीले चालु खाता २६ अर्ब ७ करोड रुपैयाँले बचतमा पुगेको छ । यस्तै गत वर्ष ८ अर्ब ८३ करोड बचतमा रहेको शोधनान्तर ६७ अर्ब ६३ करोड रुपैयाँ बचतमा छ ।

साउन र भदौमा विदेशी मुद्राको सञ्चिति १२ अर्ब २० करोड अमेरिकी डलर नाघेको छ । यसबाट साढे १६ महिनाको आयात धान्न सकिने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

पोहोर भदौमा ६ प्रतिशतमाथि रहेको मूल्यवृद्धि यसपाली भने ४ दशमलव ५२ प्रतिशतमा सीमित भएको समेत राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs