प्रहरीले चलाएको गोली लागेर नाइजेरियामा कम्तिमा २० जनाको प्रदर्शनकारीको मृत्यु

५ कात्तिक, २०७७ नाइजेरिया । नाइजेरियामा प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोली चलाउँदा कम्तिमा २० जनाको मृत्यु भएको छ ।
नाइजेरियाको लागोसमा प्रहरी दमन र क्रूरताविरुद्ध प्रदर्शन गरिरहेकामाथि सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाउँदामा कम्तिमा २० जनाको मृत्यु हुनुका साथै ५० जनाभन्दा बढी घाइते भएको एमनेष्टी इन्टरनेशनलले जनाएको छ ।
घटनापछि नाइजेरियाको सबैभन्दा ठूलो शहर लागोससहित आसपासका क्षेत्रमा अनिश्चितकालीन कर्फ़्यू लागू गरिएको छ । प्रदर्शनकारीमाथि भएको यस घटनाको निष्पक्ष जाँच गरिने प्रशासनले बताएको छ ।
नाइजेरियामा भंग भइसकेको स्पेशल एन्टी रोबरी स्क्वायड अर्थात सार्स प्रहरी इकाइविरुद्ध गएको दुई हप्तादेखि प्रदर्शन भइरहेको छ । गैरकानूनी हिरासत, उत्पीडन लगायतका आरोप लागेपछि सार्स इकाइ बन्दको मागसहित त्यहाँ दुई साता अघि प्रदर्शन शुरु भएको थियो ।
चर्कंदो प्रदर्शनका बीच राष्ट्रपति मुहम्मदु बुहारीले अक्टोबर ११ तारिखमा उक्त इकाइ भंग गरेका थिए । तर प्रदर्शनकारीले सुरक्षाकर्मीको आचारसंहिता तथा देशको व्यवस्था सुधारको माग गर्दै प्रदर्शन जारी राखेका छन् ।
प्रतिक्रिया