खेलकूद

आइपीएलमा पञ्जाब विजयी, दिल्ली ५ विकेटले पराजित

हिमालय टिभी
२०७७ कार्तिक ५ गते ७:३५
आइपीएलमा पञ्जाब विजयी, दिल्ली ५ विकेटले पराजित

५ कात्तिक, २०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग (आइपीएल) मा किंग्स इलाभेन पञ्जाब विजयी भएको छ ।

आइपीएल अन्तर्गत सम्पन्न पछिल्लो खेलमा पञ्जाबले शीर्ष स्थानको दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरेको हो ।

दिल्लीले प्रस्तुत गरेको १ सय ६५ रनको लक्ष्य पञ्जाबले एक ओभर अगावै ५ विकेट गुमाएर पूरा गरेको थियो । उसका लागि निकोलस पुरनले ५३, ग्लेन म्याक्सवेलले ३२ तथा क्रिस गेलले २९ रन बनाए ।

बलिङमा दिल्लीका काशिगो रबाडाले दुई विकेट लिए । यसअघि दुबईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गर्दै दिल्लीले २० ओभरमा ५ विकेटको नोक्सानीमा १ सय ६४ रन बनाएको थियो ।

दिल्लीका लागि शिखर धवनले नटआउट १ सय ६ रनको शतकीय इनिंग्स खेले । म्यान अफ द म्याच भएका धवनको जारी प्रतियोगितमा लगातार दोस्रो शतक हो ।

बलिङतर्फ पञ्जाबका मोहम्मेद सामीले दुई विकेट हात पारे । हारका बावजूद १० खेलबाट १४ अंक जोडेको दिल्ली शीर्ष स्थानमा कायमै रहँदा समान १० खेलबाट ८ अंक जोडेको पञ्जाब तालिकाको पाँचौ स्थानमा पुगेको छ ।

प्रतियोगिता अन्तर्गत आज रोयल च्यालेञ्जर्स बेंग्लोर र कोलकाता नाइट राइडर्सबीच खेल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्