आइपीएलमा चेन्नई राजस्थानसँग ७ विकेटले पराजित
४ कात्तिक, २०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग (आइपीएल) मा राजस्थान रोयल्स विजयी भएको छ ।
आइपीएल अन्तर्गत गएराति सम्पन्न खेलमा राजस्थानले चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज जित निकालेको हो ।
१ सय २६ रनको मध्यम लक्ष्य राजस्थानले १७ दशमलव ३ ओभरमा मात्र ३ विकेटको क्षतिमा पूरा गरेको थियो । उसका लागि जोश बट्लरले नटआउट ७० रनको इनिंग्स खेले ।
त्यस्तै कप्तान स्टेभेन स्मिथ २६ रनमा अविजित रहँदा बेन स्टोक्सले १९ रन बनाए । बलिङमा चेन्नईका दीपक चहरले दुई विकेट लिए ।
यसअघि आबुधाबीस्थित शेख जायद रंगशालामा टस जितेर ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २५ रन बनाएको थियो ।
चेन्नईका रविन्द्र जडेजा ३५ रन अविजित रहँदा कप्तान महेन्द्र सिंह धोनीले २८ तथा साम करनले २२ रन जोडे । जितसँगै राजस्थान तालिकाको पाँचौ स्थानमा उक्लिएको छ भने पराजित टोली चेन्नई तालिकाको पुछारमा रहेको छ ।
प्रतियोगिता अन्तर्गत आज शीर्ष स्थानको दिल्ली क्यापिटल्स र किंग्स एलाभेन पञ्जाबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया