आर्थिक

कोरोनाका कारण भारतीय सीमा बन्द हुँदा नेपाली व्यापारीलाई फाइदा (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक २ गते १६:००
कोरोनाका कारण भारतीय सीमा बन्द हुँदा नेपाली व्यापारीलाई फाइदा (भिडियोसहित)

२ कात्तिक, २०७७, कैलाली । विगतका बर्षमा चाडपर्व नजिकिएसँगै भारतीय बजारमा जाने नेपालीको सीमा नाकामा लर्को हुन्थ्यो । तर अहिले कोरोना कहरका कारण नाकाबाट मालबाहक गाडी र नेपाली नागरिकलाई मात्रै आउन दिइएको छ ।

जसले गर्दा नेपाली उपभोक्ता किनमेलका लागि भारत जान पाएका छैनन् । त्यसैले सिमावर्ती नेपाली बजारमा ब्यापार ब्यवसाय बढेको छ ।

सुदूरपश्चिमको मुख्य नाका कैलालीको त्रिनगर नाकाबाट मालबाहक समान तथा नेपाली नागरिक मात्रै आउने गरेका छन् । नेपालबाट कसैलाई पनि उता जान दिइएको छैन ।

सामान्य अवस्थामा किनमेलका लागि पनि भारत जानेहरु अहिले भारत जान पाएका छैनन् । त्यसैले अहिले धनगढीसहित आसपासका बजारमा दशैंको किनमेलका लागि चहल पहल बढेको छ ।

दैनिक खाद्यान्न, लत्ता कपडा, तरकारी लगायतका समान किन्न भारत जाने रोकिएका छन् । जसले गर्दा उनीहरु नेपालकै बजारमा किनमेल गर्न बाध्य छन् र यसले नेपाली उत्पादनको बिक्री बढेको छ । नेपाली व्यापारी र व्यवसायीलाई नै टेवा पुगेको छ ।

नेपालसँग सिमाना जोडिएका भारतीय बजार नेपालीलाई लक्षित गरेर खोलिएका छन् । भारतको अरु ठाउँमा बिक्री नभएको, सडेका र कमसल माल सामान सीमावर्ती बजारमा ल्याएर नेपालीलाई भिडाउने गरेको आरोप पनि छ । तर अहिले भारत जान नपाए पछि नेपाली उपभोक्ताले स्वदेशमा नै गुणस्तरीय सामान पाएका छन् । जसले सरकारको राजश्व पनि बढेको छ ।

सामान्य सामानका लागि पनि भारतकै भर पर्ने सीमानाका नेपाली उपभोक्तालाई नेपाली बजारबाटै सामान किनमेल गर्न कोरोनाले सिकाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *