राजनीति

बुढीगण्डकीमा ओली र प्रचण्डले घुस लिएको प्रमाण दिन बाबुरामलाई नेकपाको चुनौती

हिमालय टिभी
२०७७ असोज २८ गते १८:४९
बुढीगण्डकीमा ओली र प्रचण्डले घुस लिएको प्रमाण दिन बाबुरामलाई नेकपाको चुनौती

२८ असोज, २०७७ काठमाडौं । बुढीगण्डकी जलविद्युत आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घुस लिएको भन्ने आरोपका विषयमा सत्तारुढ नेकपाले मुख खोलेको छ ।

नेकपाले बुढीगण्डकी जलविद्युत आयोजनामा ओली र प्रचण्डले घुस लिएको भन्ने आरोपको खण्डन गर्दै प्रमाण पेश गर्न पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई चुनौती दिएको छ ।

भट्टराईले लगाएको आरोप आधारहीन र झुटो भन्दै नेकपाले प्रमाण भए सार्वजनिक रुपमा र राज्यका सम्बन्धित आधिकारिक निकायमा पेश गर्न चुनौती दिएको हो । ढिलो गरी नेकपाले भट्टराईको आरोपबारे मुख खोलेको हो ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रेस वक्तव्य निकालेर भट्टराईको अभिव्यक्ति आधारहीन, झुठ, गलत, कपोलकल्पित एवं दूरासयपूर्ण रहेको भन्दै पूर्ण रुपमा खारेज र भर्त्सना गर्नुभएको छ ।

प्रधानमन्त्री भैसकेका व्यक्तिले आपत्तिजनक र गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै नेकपाले त्यसका लागि भट्टराईले माफी माग्नुपर्ने तर्क अघि सारेको छ । पूर्व प्रधानमन्त्री भट्टराईले भ्रमको खेती गरेको नेकपाको आरोप छ ।

केही दिनअघि गोरखामा पूर्व प्रधानमन्त्री भट्टराईले प्रधानमन्त्री ओली, पूर्व प्रधानमन्त्री प्रचण्ड र शेरबहादुर देउवाले मिलेर बुढीगण्डकीमा नौ अर्ब भ्रष्टाचार गरेको आरोप लगाउँदै त्यसको आफूसँग प्रमाण रहेको दावी गर्नुभएको थियो ।

भट्टराईको आरोपको कांग्रेसले पनि दुई दिनअघि खण्डन गरेको थियो । पार्टीका तर्फबाट खण्डन भएपनि ओली, प्रचण्ड र देउवाले व्यक्तिगत रुपमा केही बोल्नुभएको छैन । भट्टराईले बुढीगण्डकीमा भ्रष्टाचार भएको भन्दै छानबिनको माग गर्दै आउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्