समाज

सुदूरपश्चिमका तीन जिल्लामा विमानस्थल उद्घाटन, संचालन हुनेमा भने आशंका (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज २८ गते १८:०८
सुदूरपश्चिमका तीन जिल्लामा विमानस्थल उद्घाटन, संचालन हुनेमा भने आशंका (भिडियोसहित)

२८ असोज, २०७७, धनगढी । सुदूरपश्चिमका ३ पहाडी जिल्लाका विमानस्थल १० दिनअघि उद्घाटन भयो । बैतडी, बझाङ र डोटीमा विमानस्थल उद्घाटन भएसँगै खुशी भएका नागरिक विगतकै नियति दोहोरिन्छ कि भन्ने चिन्तामा छन् । विगतमा यी पिवमानस्थल उद्घाटनमै सीमित भएका थिए ।

बैतडी, बझाङ र डोटीमा निर्माण भएका ३ वटा विमानस्थलको संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले केही दिनअघि उद्घाटन गर्नुभयो । तीन वटै विमानस्थलमा विमान चार्टर्ड गरेर उहाँ पुग्नुभयो । ती विमानस्थल कुनै यात्रुको अभावमा त कुनै माओवदाी द्वन्द्वका कारण बन्द थिए । अहिले कालोपत्रे गरी पुनः हवाई उडान सञ्चालन गर्ने तयारी स्वरुप विमानस्थलको उद्घाटन गरिएको हो । विमानस्थल उद्घाटनमा मन्त्री भट्टराईले अब नियमित उडान हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सरकारले प्रतिबद्धता गरे पनि विमानस्थलमा नियमित उडान हुनेमा भने स्थानीय बासिन्दा विश्वस्त छैनन् । पहाडी जिल्लामा कालोपत्रे भइसकेका विमानस्थल र कालोपत्रे गर्न बाँकी विमानस्थलको काम पनि तत्काल शुरु गर्नुपर्नेमा यो क्षेत्रका व्यवसायीको माग छ । धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा विकास गरेर पहाडी जिल्लामा उडान गर्नुपर्ने व्यवसायीको माग छ ।

नेताहरुले धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने नारा बाँडे पनि धनगढी बिमानस्थल क्षेत्रीय समेत हुन सकेको छैन । यो बिमानस्थल क्षेत्रीय बिमानस्थलका रुपमा विकास भए सुदूरपश्चिमको पर्यटकीय विकास मात्रै नभएर अन्य प्रदेशको समेत पर्यटन प्रवर्द्धन हुने उद्योगीको विश्वास छ ।

सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये बाजुराको कोल्टी, कैलालीमा गेटा र टीकापुर, कञ्चनपुर, अछाममा साँफे बगर र कमल बजार, दार्चुलाको गोकुलेश्वर, बझाङ र डोटीमा विमानस्थल छन् । हाल कैलालीको धनगढी विमानस्थलबाट मात्र नियमित उडान हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *