समाज

क्वारन्टिनबाट भागेर घर पुगेका डोटीका ७ जनामा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ असोज २८ गते १३:४०
क्वारन्टिनबाट भागेर घर पुगेका डोटीका ७ जनामा कोरोना संक्रमण पुष्टि

२८ असोज, २०७७ डोटी । गत सोमबार राति करिब ९ बजे क्वारन्टिनबाट भागेर घर गएका डोटीको शिखर नगरपालिका–१ कपल्लेकीमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहका अनुसार भारतबाट आई क्वारन्टिन बसेका उनीहरुको शनिबार स्वाब संकलन गरिएको थियो ।

स्वाब संकलन गरिएका १६ जनामध्ये १२ जना संक्रमित भेटिएको शाहले जानकारी दिनुभयो । स्थानीय केदारेश्वर माध्यमिक विद्यालयको क्वारन्टिनबाट संकलित नमूना जिल्ला अस्पताल डोटीको प्रयोगशालामा परीक्षण गरिएको थियो ।

नतिजा पोजेटिभ आएपछि सातै जनालाई मंगलबार साँझ फेरि क्वारन्टिनमा राखिएको स्वास्थ्य संयोजक शाहले बताउनुभयो । घरका सदस्यहरुलाई पनि बाहिर जान नदिने र पाँच दिनपछि उनीहरुको स्वाब संकलन गर्ने निर्णय भएको शाहले जानकारी दिनुभयो।

शिखर नगरपालिकामा क्वारन्टिनबाट घर गएकाहरुको पोजेटिभ रिपोर्ट आएको यो दोश्रो घटना हो । यसअघि वडा नं. ३ को आली अतुरालीमा पनि संक्रमित घर गएको तेस्रो दिन रिपोर्ट पोजेटिभ आएको थियो ।

पहिलो पटक सूचनामा अन्यौलताका कारण त्यस्तो भएको भएपनि यस पटक सुरक्षा अभावका कारण यस्तो भएको शाहले बताउनुभयो । भनेको नमानेर गएपछि स्वास्थ्यकर्मीले रोक्न नसकेको स्वास्थ्य संयोजक शाहले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *