आर्थिक

उपभोग्य वस्तुमा मूल्यवृद्धि भएको छैनः मन्त्री भट्ट

हिमालय टिभी
२०७७ असोज २७ गते १५:०९
उपभोग्य वस्तुमा मूल्यवृद्धि भएको छैनः मन्त्री भट्ट

२७ असोज, २०७७ काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बजारमा मूल्यवृद्धि नभएको दाबी गर्नु भएको छ ।

नेपाल चेम्बर अफ कमर्शको ७० औं दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टले दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि नभएको दाबी गर्नु भएको हो ।
उहाँले लामो समय लकडाउन भएपछि खुलेको बजारमा कुनैपनि खाद्यान्न लगायत दैनिक रुपमा प्रयोगमा आउने वस्तुमा महँगी नभएको दावी गर्नुभएको छ । तर विश्व बजारमा नै केही वस्तुमा मूल्यवृद्धि भएकाले नेपालमा पनि एक दुईवटा वस्तुमा मूल्य वृद्धि हुनु स्वभाविक भएको मन्त्री भट्टले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘अहिले पनि बजार एकदम आफ्नो गतिमा गएको छ । त्यसैले कहिँ पनि समस्या आएको छैन । केही वस्तुमा विश्वमै मूल्य बढेपछि बढ्यो होला नत्र खाद्यान्नलगायत दैनिकी वस्तुहरुमा महँगाई भन्ने छैन । अब एकाध वस्तुमा हुने स्वभाविक हो । हिजो पनि हुन्थ्यो ।’

अहिलेको परिस्थितिमा व्यापार घाटा कसरी घटाउन सकिन्छ भन्नेमा मन्त्रालयको ध्यान केन्द्रीत भएको पनि उहाँले बताउनुभयो । निर्यात कसरी बढाउने, उत्पादन कसरी बढाउने र लगानी कसरी भित्र्याउने भन्ने विषय नै देशका लागि महत्वपूर्ण भएको मन्त्री भट्टले बताउनुभयो ।

आफुले मन्त्रालय सम्हालेदेखि व्यवसाय मैत्री वातावरण बन्दै गएको दाबीसमेत मन्त्री भट्टले गर्नुभएको छ । कर र राजस्वका विभिन्न विषयमा सुधार गरेर उद्योग र व्यापार सञ्चालन गर्ने वातावरण निर्माण गर्न सरकार तत्पर रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *