विदेश

दुई अमेरिकी अर्थशास्त्रीलाई यो वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

हिमालय टिभी
२०७७ असोज २६ गते १७:५९
दुई अमेरिकी अर्थशास्त्रीलाई यो वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

२६ असोज, २०७७ काठमाडौं । यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दुई जना अमेरिकी अर्थशास्त्रीलाई दिइने भएको छ ।

रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले अर्थशास्त्री पल आर मिलग्रोम र रोबर्ट बी विल्सनलाई संयुक्त रुपमा अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको हो ।

‘लिलामीको सिद्धान्तमा सुधार र लिलामीको नयाँ विधिको विकास’ गरेकाले उनीहरुलाई पुरस्कार दिइएको एकेडेमीले जनाएको छ । परम्परागत ढाँचामा लिलामीमा वस्तु तथा सेवाको विक्री भइरहेको अवस्थामा मिलग्रोम र विल्सनको नयाँ सिद्धान्तले विश्वभरका बिक्रेता, क्रेता र करदातालाई सहज हुने एकेडेमीको ठहर छ ।

दुवै जना अमेरिकाको स्टानफोर्ड विश्वविद्यालयका प्राध्यापक हुन् । विजेताले स्वर्ण पदक र एक करोड स्विडिस क्रोनर पाउनेछन् ।

सामान्यतया लिलामीमा मानिसहरुले बढी मोल कबोल गर्नेलाई सामान विक्री गर्छन् भने कम मोल तोक्नेबाट सामान किन्ने गर्छन् । हिजोआज पुरातात्विक महत्वका पूराना वस्तु, कलालगायतका वस्तु मात्रै होइन, सुरक्षा, खनिज पदार्थ र ऊर्जालगायतका क्षेत्रमा पनि लिलामीबाट वस्तु तथा सेवाको खरिदविक्री हुने गरेको छ ।

सार्वजनिक खरिद पनि लिलामीकै विधिबाट अपनाइने गरेको छ । रोबर्ट विल्सनले एउटा साझा मूल्यका आधारमा वस्तुको लिलामीका लागि नयाँ सिद्धान्तको विकास गरेको एकेडेमीको निष्कर्ष छ ।

त्यस्तै एकेडेमीका अनुसार पल मिलग्रोमले लिलामीबारे अझ सामान्य सिद्धान्तको विकास गरेका छन् । मिलग्रोमको सिद्धान्तअनुसार बोलकबोलमा साझा मूल्यलाई अनुमति दिइन्छ ।

यो सिद्धान्तअनुसार निजी मूल्य पनि बोलकबोल गर्ने व्यक्तिअनुसार फरकफरक हुनेछ । अर्थशास्त्रतर्फकोसँगै यस वर्षको लागि सबै विधाको नोबेल पुरस्कार घोषणा भएको छ । यस वर्ष नोबेल पुरस्कार पाउनेमा सात पुरुष, चार महिला र एउटा संस्था छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *