आर्थिक

दशैंका लागि पोखरा झारिँदै ५ हजार च्याङ्ग्रा (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज २६ गते १७:०८
दशैंका लागि पोखरा झारिँदै ५ हजार च्याङ्ग्रा (भिडियोसहित)

२६ असोज, २०७७, पोखरा । दशै‌ं नजिकिँदै गर्दा पोखरामा च्याङ्ग्रा भित्रिन थालेका छन् । हिमाली जिल्ला मुस्ताङबाट ५ हजारको हाराहारीमा च्यांग्रा ल्याउने व्यवसायीको तयारी छ ।

त्यसै क्रममा उनीहरुले पहिलो लट च्यांग्रा पोखरा ल्याएका छन् । व्यवसायीले जिउँदो च्यांग्राको मूल्य प्रतिकिलो ८ सय ५० रुपैयाँ तोकेका छन् । कोरोना महामारीका कारण यो वर्ष तिब्बतबाट भेडा, च्यांग्रा ल्याइने छैन ।

विगतका वर्षजस्तै यस वर्ष पनि हिमाली च्यांग्रा पोखरा झरेका छन् । मुस्ताङबाट म्याग्दी, पर्वत हुँदै पोखरा भित्रिने भेडा–च्यांग्राको हुलले दशै‌ं पनि साथै ल्याइदिन्छ ।

यस वर्ष तिब्बतबाट भेडा च्यांग्रा नआएकाले मुस्ताङबाट ५ हजारको हाराहारीमा च्यांग्रा पोखरा झर्ने अनुमान छ । कोरोनाका कारण तिब्बत प्रवेश गर्ने नाका बन्द भए पछि तिब्बती भेडा च्यांग्रा नेपाल भित्रन पाएनन् । जसको कारण मुस्ताङमा च्यांग्राको भाउ बढेको छ ।

यो वर्ष तिब्बततर्फ नाका मात्र बन्द भएन कोरोना महामारीका कारण स्थानीय प्रसासनले कडाई गर्दा डोल्पाबाट च्यांग्रा ल्याउन पनि गार्‍हो भएको व्यावसायीको दुखेसो छ ।

मुस्ताङ, डोल्पा र तिब्बतबाट विगतमा च्यांग्रा भित्रने गरेका थिए । कोरोनाका कारण अहिले तिब्बतबाट मात्र हैन डोल्पाबाट समेत च्यांग्रा बाहिरिन सकेनन् । मुस्ताङका खोरबाट संकलन गरिएका बढीमा ५ हजार च्यांग्रा भित्रने अनुमान छ । त्यसमध्य एक हजार च्यांग्रा काठमाडौंका व्यापारीले लगेका छन् ।

तराईका जिल्लासम्म पुग्ने भेडा च्यांग्रा यो वर्ष भने पोखारामै अभाव हुने छ । विगतका वर्षमा २० देखि ३० हजारसम्म भेडा, च्यांग्रा पोखरा आइपुग्थे । गत वर्ष जिउदोँ च्यांग्राको मुल्य प्रतिकेजी ७ सय ५० रुपैयाँ थियो ।

अहिले गत वर्ष भन्दा एक सय रुपैयाले बढि छ । भेडाच्यांग्राले हिमाली जडिबुटी खाने भएकाले स्वादिलो र स्वास्थ्यका हिसाबले पनि उपयोगी मानिन्छ । यो वर्ष च्यांग्रा कम भित्रिएपछि खशी बोकाको खपत बढि हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *