राष्ट्रिय गौरवको आयोजना पोखरा विमानस्थलको काम ६४ प्रतिशत पूरा
२३ असोज, २०७७ काठमाडौं । निर्माणाधीन राष्ट्रिय गौरवको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हालसम्म ६४ प्रतिशत काम सकिएको छ ।
कोरोना कहर तथा बन्दाबन्दीका बीचमा समेत विमानस्थललाई बन्द गरेर आयोजनाको काम भइरहेकामा हालसम्म ‘एयर साइड’ तथा ‘ल्याण्ड साइड’ दुवैतर्फ गरी समग्रमा ६४ प्रतिशत काम सकिएको हो ।
पोखरा क्षेत्रीय विमानस्थल आयोजना कार्यान्वयन एकाइका प्रमुख विनेश मुनंकर्मीले कामलाई थप तिब्रता दिइने बताउनुभयो । आयोजना प्रमुख मुनंकर्मीले धावनमार्ग रनवे, ट्याक्सीवे, एप्रोन, आइसोलेटेड पार्किङ तथा ह्याङ्गर एप्रोनको काम सम्पन्न भएको बताउनुभयो ।
त्यसैगरी आन्तरिक तथा बाह्य टर्मिनल भवन, एटिसी टावर, ह्याङ्गर भवनलगायतका विभिन्न १४ वटा भवनको सिभिल र कङ्क्रिट स्टिल संरचना तथा छाना छाउने काम सकिएको छ । ति संरचनाको फिनिसिङ तथा डेकोरेशनको काम बाँकी रहेको मुनंकर्मीले जानकारी दिनुभयो ।
हाल चिनियाँ कामदार तथा कर्मचारी १८० तथा नेपाली ९० जना मजदुरले विमानस्थलको काम गरिरहेको र तोकिएको मिति सन् २०२१ जुलाई १० भित्रमा विमानस्थलको सम्पूर्ण काम सम्पन्न हुने प्रमुख मुनंकर्मीले बताउनुभयो ।
प्रतिक्रिया