आर्थिक

बजार अनुगमनमा भेटिए म्याद सकिएका सामान (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज २१ गते २०:२९
बजार अनुगमनमा भेटिए म्याद सकिएका सामान (भिडियोसहित)

२१ असोज, २०७७ काठमाडौं । दशैं–तिहार लगायतका चाडबाड नजिकिएसँगै काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई बढाएको छ । चाडपर्वको पूर्वसन्ध्यामा बजारमा म्याद गुज्रिएका सामान विक्री र कालोबजारी हुन सक्ने भन्दै महानगरले अनुगमन बढाएको हो । तर महानगरले नामको ‍मात्र अनुगमन गर्ने गरेको र ‘अन द स्पट’ कारबाही गर्न नसकेको उपभोक्ताकर्मीको आरोप छ ।

चाडबाड न‍जिकिएसँगै बजार अनुगमनलाई निरन्तरता दिएको काठमाडौं महानगरपालिकाको टोलीले बुधबार काठमाडौंको नक्साल, कालोपुल लगायतका ठाउँमा अनुगमन गर्‍यो ।

अनुगमनका क्रममा टोलीले नक्सालस्थित बिगमार्टमा केही कमजोरी भेटेपछि सचेत गरायो। कालोपुलकै एक मार्टको गोदाममा करिब १० लाख रुपैयाँ बराबरको म्याद गुज्रिएको सामान भेटिएपछि टोलीले एक साताभित्र विस्तृत विवरण महानगरमा बुझाउन निर्देशन दियो । ती सामग्रीको व्यवस्थापन छिटो गर्न नसके कारबाही गर्ने टोलीले मार्टलाई चेतावनी दियो ।

अनुगमनका विभिन्न पसलहरुमा कैफियत भेटिए पनि महानगरले ‘अन द स्पट’ कारबाही भने गरेको छैन् । काठमाडौं महानगरपालिकाले बजार अनुगमनका क्रममा कुनै कैफियत फेला परे वाणिज्य विभागलाई कारबाहीका लागि सिफारिस गर्दै आएको छ । त्यसैले विभागको मुख नताकी महानगरले आफैंले ‘अन द स्पट’ कारबाही गर्न सक्नुपर्ने उपभोक्ताकर्मीको माग छ ।

‘अन द स्पट’ कारबाही गर्न नसकेकोमा महानगरको अनुगमन टोली पनि खिन्न छ । त्यसैले निकट भविश्यमै आफ्नै कार्यविधि, निर्देशिका र नियमावली बनाएर बजार अनुगमनलाई थप प्रभावकारी बनाउने उसको दाबी छ । तर महानगरले नियम बनाएर कहिलेबाट ‘अन द स्पट’ कारबाही गर्ने हैसियत राख्ने हो त्यो भने यकिन छैन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *