आर्थिक

कृषि विकास बैंकको बिना धितो ऋणः सीप र जाँगर भएकालाई अवसर बन्दै (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १९ गते १८:४५
कृषि विकास बैंकको बिना धितो ऋणः सीप र जाँगर भएकालाई अवसर बन्दै (भिडियोसहित)

१९ असोज, २०७७, भैरहवा । कृषि विकास बैंकले महिलालाई १५ लाख रुपैयाँ र अन्यलाई १० लाख रुपैयाँसम्म बिना धितो ऋण प्रवाह गर्दै आएको छ । प्रदेश पाँचका साविकका लुम्बिनी अञ्चलमा पर्ने ६ जिल्लाका १ सय ४२ जना महिला–पुरुषले पनि कृषि विकास बैंकबाट बिना धितो ऋण लिएर उद्यम गरिरहेका छन् ।

बुटवल उपमहानगरपालिका–५ अमरपथस्थित डिजी टेलरिङ सेन्टरका संचालक सीता सुनाम र उहाँका श्रीमान बुद्ध सिलाई कटाई व्यवसाय गर्नुहुन्छ । सिलाई कटाईबाट पारीवारिक खर्च मात्रै चलाउँदै आएको यो दम्पतीले कृषि विकास बैंकबाट बिना धितो ७ लाख रुपैयाँ ऋण लियो र ४ वटा सिलाई मेसिन थप गरेर व्यवसायलाई फराकिलो बनायो ।

श्रेया मार्टकी संचालक लक्ष्मी केसी छोराछोरी पढाउन ७ वर्षअघि अर्घाखाँचीबाट बुटवल झर्नुभयो । श्रीमान् वैदेशिक रोजगारीमा भएकाले लक्ष्मीको ७ वर्ष छोराछोरी हुर्काउनमै बित्यो । श्रीमानले विदेशबाट कमाएर ल्याएको पैसामा थप गरी व्यवसाय गर्ने सोच बनाएकी लक्ष्मीले कृषि बैंकबाट १० लाख रुपैयाँ बिना धितो ऋण लिएर किराना पसल संचालन गरिरहनु भएको छ ।

बाग्लुङबाट आएर तिलोत्तमा नगरपालिकामा भैंसीपालन व्यवसाय गरिरहेका गणेशबहादुर न्यौपानेले ऋण लिन विभिन्न बैंक धाउनुभयो । कतैबाट बिना धितो ऋण नपाएपछि आफन्तको सल्लाहअनुसार कृषि बैंकमा गई बिना धितो १० लाख ऋण लिएर भैंँसी थप गर्नुभयो । अहिले उहाँको फार्ममा ११ भैंसी र ३ वटा गाई छन् । अहिले उहाँको आम्दानी पनि बढेको छ ।

सुनाम, केसी र न्यौपाने प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । बिना धितो ऋण लिएर उहाँहरुजस्ता धेरै जना उद्यमी बनेका छन् । सरकारले २०७३ सालबाट विना धितो ऋण दिन सुरु गरेको हो । तर सुरुका वर्षमा कार्यान्वयन फितलो भए पनि अहिले भने कार्यान्वयन हुन थालेको छ ।

लगानी जोखिम देखेपछि निजी बैंकहरुले बिना धितो ऋण दिन आनाकानी गर्छन् । त्यसैले उद्यम गर्न चाहने धेरै कृषि विकास बैंकमा पुग्छन् । लगानी जोखिमकाबीच पनि बैंकले उद्यम गर्न चाहनेको योजना बुझेर ऋण दिने गरेको छ ।

बिना धितो ऋण लिन धितो राख्ने केही नभएको, केमा लगानी गर्ने हो, त्यसको विस्तृत विवरण र वडाको सिफारिस चाहिन्छ । कृषि विकास बैंक प्रादेशिक कार्यालयका अनुसार साविक लुम्बिनी अंचलका ६ जिल्लाका शाखाहरुबाट विनाधितो ऋण लिएर १४२ जनाले विभिन्न उद्यम गरी मनग्य आम्दानी गर्दै आएका छन् ।

कृषि बैंकले महिलालाई १५ लाखसम्म र अन्यलाई १० लाखसम्म बिना धितो ऋण प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *