सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढ्दो

Himalaya Television
२०७७ असोज १९ गते १४:२६

सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढ्दो

१९ असोज, २०७७ धनगढी । दसैँ तिहार तथा छठ पर्वलाई लक्षित गर्दै धनगढीमा सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । मङ्सिर ६ गतेसम्मका लागि सुपथ मूल्य पसल सञ्चालनमा आएसँगै उपभोक्ता आकर्षित भएका छन् ।

सरकारले चाडबाडको अवसरमा आम उपभोक्तालाई राहत दिने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । उपत्यका मात्रै नभएर देशका प्रमुख सहरहरुमा समेत सुपथ मूल्य पसल सञ्चालनमा आएका छन् । बजारमा महँगी बढ्दै जाँदा सुपथ मूल्य पसलबाट सस्तो मूल्यमा उपभोग्य बस्तु किन्न पाउँदा उपभोक्ता खुसी भएका छन् ।

साल्ट ट्रेडिङ कर्पोरेसन, नेसनल ट्रेडिङ लिमिटेड, खाद्य संस्थान र दुग्ध विकास संस्थानले सहकार्य गरेर सुपथ पसल सञ्चालन गरिरहेका छन् । सुपथ मूल्य पसलबाट चिनी, नुन, चामल, साबुन र स्यानिटाइजर लगायतका सामग्री विक्री वितरण भइरहेका छन् ।

पसलमा चिनी प्रतिकिलो रु ७० र नुन प्रतिकिलो रु १८ मूल्य निर्धारण गरिएको छ । बाहिरको दरभन्दा चिनी किलोमा रु १० र नुन किलोमा रु दुई छुट गरिएको छ । सुपथ मूल्य पसलबाट उपभोक्ताले सामान किन्ने मात्रै नभएर बेच्ने पनि गरेको साल्ट ट्रेडिङ कर्पोरेशन कार्यालय धनगढीका नायब महाप्रवन्धक, केशव प्रसाद पाण्डेले बताउनुभयो ।

चाडपर्वको समयमा सुपथ मूल्य पसलमा मालसमानको अभाव हुन नदिन उचित व्यवस्थापन गरिएको खाद्य संस्थान धनगढीका प्रमुख अनिल कुमार श्रेष्ठले बताउनुभयो ।

यो वर्ष सुदूरपश्चिमका अन्य जिल्लाहरुमा भने सुपथ मूल्य पसल सञ्चालनमा आएको छैन । विगतमा कैलालीको टीकापुर, कञ्चनपुरको बेलौरी, महेन्द्रनगर र पहाडी जिल्लामा बैतडी, डडेल्धुरा, दिपायल लगायतका स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याइएको थियो । यो वर्ष भने अनलाइन बिलिङ सिस्टम भएपछि अन्य स्थानमा पसल सञ्चालनमा आउन सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *